• Monday 5th of October 2026

प्रदेशमा १२७ योजनाको काम भइरहेको छ : मन्त्री फुयाँल


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले विकासको गति समातेको बताउँदै हाल प्रदेशमा १२७ वटा महत्वपूर्ण योजनाको काम भइरहेको जानकारी दिनुभएको छ । चितवनका विभिन्न आठभन्दा बढी निर्माणाधीन तथा निर्माण गर्नुपर्ने योजनाको अनुगमनपछि रासससँग कुरा गर्दै मन्त्री फुयाँलले अगामी दुई महिनाभित्र २९ वटा योजना निर्माणका लागि बोलपत्र आह्वान हुने बताउनुभयो । मन्त्री फुयाँलले ३५ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनको काम भइरहेको जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०७७÷७८ मा पुलबाहेक ४० आयोजना सम्पन्न हुने बताउनुभयो ।

विभिन्न योजनाको अनुगमनका क्रममा चितवन पुग्नुभएका मन्त्री फुयाँलले राप्ती नगरपालिकाको वडा नं ७ र ८ का किसानको खेतबारीे सिँचाइका लागि प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको चिप्लेटी कुलोको अनुगमन गर्नुभयो । कुलोको मुहान तथा नवनिर्मित कुलोको अनुगमनपछि बोल्दै मन्त्री फुयाँलले जनताको समस्या समाधानका लागि सरकारले जनतासँग नै मिलेर काम गर्ने बताउनुभयो । उहाँले रकम अभावका कारण कुनै पनि काम नरोकिने बताउँदै इच्छाशक्ति र पारदर्शिता भएमा थोरै रकमले पनि धेरै काम गर्न सकिने धारणा राख्नुभयो ।

मन्त्री फुयाँलले नारायणी खगेरी लिफ्ट सिँचाइ, हरिपुरमा गत महिना भाचिएर पुनःनिर्माण गर्नुपर्ने पुल, ऐतिहासिक गणेशथान मन्दिर तथा सुकुम्वासी बस्ती संरक्षणका लागि निर्माण गर्न लागिएको बाँध निर्माणस्थल, हरियाली उद्यानसहितको केरुङ्गा घोलको बाँध निर्माणस्थल, नारायणी नदीस्थित जननेता मदन भण्डारीको शव भेटिएको स्थानमा निर्माणाधीन उद्यानलगायत आठ योजनाको अनुगमन गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology