• Monday 27th of July 2026

कोभिड–१९ नियन्त्रण गर्न उच्चस्तरीय समिति


  • गोकर्णेश्वर अनलाइन

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गर्नुभएको हो । मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वस्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिले प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आइपर्ने समस्यालाई प्रदेश, जिल्ला र स्थानीयतहसँग समन्वय गर्ने र कोभिड–१९ बाहेकको अन्य नियमिति सेवा प्रवाह गर्न समन्वय गर्नेछ । दुईदेखि तीन हप्ता समय दिइएको समितिले स्थलगत अवस्थाको अध्ययन गरी प्रदेशमा रहेका अस्पताल, स्थानीय तह, प्रदेश स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक प्रयोगशाला, प्रदेश आपूर्ति केन्द्र एवम् सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी कोभिड–१९ का बिरामीलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा व्यवस्था गर्नेछ ।

यस्तै समितिले कन्ट्र्याक्ट ट्रेसिसङलाई प्रभावकारी बनाउन समन्वय गर्ने, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई अनिवार्यरुपमा मापदण्डअनुसार क्यारन्टिन र होल्डिङ सेन्टरमा राख्ने र अनिवार्य रुपमा पिसिआर परीक्षणको व्यवस्थाको समन्वय गर्नेछ । यसैगरी समितिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कोभिड–१९ को सङ्क्रमणमा भई अस्पताल सञ्चालनमा समस्या परे हब तथा सेटलाइट अस्पतालबाट स्वास्थ्यकर्मी तथा अन्य सहयोगी कर्मचारीको व्यवस्थापनमा समन्वय गर्ने, कोभिड–१९ डेडिकेटेड अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य यथाशीघ्र गर्नका लागि पलह गर्ने, आइसियु र भेन्टिलेटरको व्यवस्थापनमा समन्वय गर्ने, एम्बुलेन्स सेवा व्यवस्थापनका लागि समन्वय गर्नेलगायत काम गर्ने गरी समिति गठन गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology