• Monday 5th of October 2026

युवालाई समुदायमा परिचालन गर्छौँ : मुख्यमन्त्री शाही


  • गोकर्णेश्वर अनलाइन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आएका ५३ हजारभन्दा बढी सङ्क्रमितको पिसीआर परीक्षण गरी सकिएकाले अरूलाई जोगाउन सचेतना आवश्यक रहेको बताउनुभएको छ । युवा गैरसरकारी संस्था महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा आज भएको ‘महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रभाव र रोकथाम तथा नियन्त्रणमा युवाको भूमिका विषयक’ भर्चुअल छलफल कार्यक्रममा उहाँले राजनीतिक नेता तथा कायकर्ता, कर्मचारी जो बढी जन सम्पर्कमा रहन्छन् उनीहरुबाट रोग फैलिने खतरा बढिरहेकाले युवालाई सुरक्षित तरिकाले समुदायमा परिचालन गरिने बताउनुभयो । समाज रुपान्तरणका सम्बाहक युवा भएकाले प्रदेश सरकारले उनीहरुलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले विरोधी मानसिकता मात्रै बोकेको अहिलेको अधिकांश युवाको संस्कार अब अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले प्रदेश सरकारले युवाको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरे पनि खर्चिन नसकेकाले समन्वयमा काम गर्न आवश्यक रहेकाले प्रादेशिक हिसाबले गठन हुने युवा परिषद्मा स्थानीय र सङ्घीय युवा संरचनालाई समेट्ने गरी ऐन ल्याउन माग गर्नुभयो । इटहरी उपमहानरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले कोरोना महामारी नियन्त्रणमा युवालाई सचेतनासम्बन्धी तालीम उपलब्ध गराएर स्वयंसेवकका रुपमा परिचालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कोभिड–१९ महामारीको रोकथामका विषयमा युवा परिचालनका लागि सबै प्रदेशमा यस प्रकारको छलफल सञ्चालन गरिने युवा गैसस महासङ्घका अध्यक्ष नारायण गिरीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न देशका युवाले आफ्ना अनुभवसहित मुख्यमन्त्रीलाई प्रश्नसमेत राखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology