• Monday 27th of July 2026

सर्पको डसाइबाट गम्भीर बालकको उपचारमा अर्थाभाव, सहयोगको याचना


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको मादी गाउँपालिका–६ तप्राङका गङ्गाधर पौडेलका १३ वर्षीय छोरा विशाल पौडेलको उपचारमा रकम अभाव भएपछि परिवारले सहयोगको याचना गरेको छ । गत साउन २८ गते राति घरमै सुतिरहेको अवस्थामा विषालु सर्प कालो करेतले डसेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार शुरु गरिएकामा उपचार प्रक्रिया लम्बिँदै जाँदा रकम अभाव भएपछि परिवारले सहयोगका लागि आग्रह गरेको हो । डसाइपछि गम्भीर बिरामी पौडेलको अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेकामा उपचारमा अर्थाभाव भएको र काठमाडौँ लैजान नसकिएको उहाँका दाजु महादेव पौडेलले बताउनुभयो ।

बिरामी पौडेल महारुद्र मावि तप्राङमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । कोमाबाट १९ दिनपछि फर्किएका विशालको मुख र आँखा चले पनि अहिलेसम्म होसमा आउन नसकेको र चिकित्सकले काठमाडौँ लैजान सिफारिस गरे पनि पैसाको अभाव भएको उहाँले बताउनुभयो । भाइको उपचारमा हालसम्म रु आठ लाख हाराहारीमा खर्च भएको बताउँदै कमजोर आर्थिक अवस्थाका कारण थप उपचार अघि बढाउन नसकिएको महादेवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिकित्सकले तीन दिनअघि नै भाइलाई काठमाडौँको न्यूरो अस्पताल लैजान भन्नुभएको छ तर त्यहाँ उपचार गर्न सक्ने हाम्रो परिवारको अवस्था छैन । सहयोगी दाताहरुले केही रकम सहयोग गरे शिक्षण अस्पतालसम्म भए पनि लैजाने योजनामा छौँ ।”

पौडेलले भाइको उपचारमा सक्दो सहयोग गरिदिनसमेत सबैमा याचना गर्नुभएको छ । उपचारमा आर्थिक सहयोग सङ्कलनका लागि अहिले मादी गाउँपालिका–६ का स्थानीयवासीले सहयोग सङ्कलन अभियान शुरु गरेका छन् । ‘विशाल पौडेल बचाउन अभियान’ शुरु गरी स्वेच्छिकरूपमा सहयोग सङ्कलन गरिएको र सहयोग आउने क्रम जारी रहेको अभियानकर्मी एवं पौडेलका आफन्त सन्तोष अधिकारीले बताउनुभयो । त्यसैगरी वडा कार्यालयले समेत सूचना जारी गरी पौडेलको उपचारमा सघाउन सङ्घसंस्था तथा व्यक्तिहरुमा आग्रह गरेको छ । सहयोग गर्न इच्छुक व्यक्तिहरुले भाइ शिवराज पौडेलको नाममा मुक्तिनाथ विकास बैंक काहुुँखोला शाखामा रहेको खाता नं ०२६२१६००४९१५५००००००१ मा जम्मा गर्न वा ९८०३२६०३०७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology