• Monday 27th of July 2026

असुरक्षित गर्भपतन गराउने क्रम बढ्दो


  • गोकर्णेश्वर अनलाइन

सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने गरेका छन् । गर्भपतनको कानूनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा तोकिएको स्वास्थ्य संस्थामा गर्भपतन गराउन सकिन्छ । प्रचलित कानूनले तोकेको परिधिमा रहेर गरिने गर्भपतन सेवालाई सुरक्षित गर्भपतन सेवा भनिन्छ । भरतपुर अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटा सुरक्षित गर्भपतन सेवामा गर्भपतनसँगै गर्भ निरोधबारे परामर्श सेवा, महिलाको आवश्यकता र चाहनाअनुसार गर्भ निरोध सेवा, गर्भपतनका सम्भावित जटिलताको व्यवस्थापन तथा उपचारसमेत पर्ने बताउनुहुन्छ । सुरक्षित गर्भपतन सेवालाई सम्पूर्ण गर्भपतन सेवा पनि भन्ने गरिन्छ ।

कानूनी व्यवस्थाअनुसार १२ हप्तासम्मको गर्भ र जबरजस्ती करणी एवं हाडनाता करणीबाट रहन गएका १८ हप्तासम्मको गर्भपतन गर्न पाइन्छ । गर्भपतन गराएमा महिलाको ज्यानमा खतरा पर्ने भएमा वा शारीरिक वा मानसिक रुपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलाङ्ग बच्चा जन्माउन सक्ने अवस्था भएमा योग्यता प्राप्त चिकित्सकको रायमा जुनसुकै अवधिको गर्भपतन गराउन पाइने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । गर्भवती महिलाको मञ्जुरीबिना र लिङ्ग पहिचान गरी लिङ्गको आधारमा भने गर्भपतन गराउन पाइँदैन । सापकोटाको भनाइमा मुख्य रुपमा दुई तरिकाबाट गर्भपतन गराइन्छ । नौ हप्तासम्मको गर्भ औषधिको माध्यमबाट र १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोगद्वारा सुरक्षित पतन गराउन सकिन्छ । उहाँले भन्नुभयो, “महिलाले आफ्नो इच्छाअनुसार दुईमध्ये कुनै एक विधि छनोट गर्न सक्छन् ।”

गर्भको अवधि १२ हप्ताभन्दा माथि भएमा सम्बन्धित कम्तीमा दुई जना विषय विशेषज्ञको राय लिनु पर्दछ । हाडनाता करणी र बलात्कारबाट रहन गएको गर्भको हकमा एक जना विषय विशेषज्ञको रायअनुसार महिलाको अनुमतिमा कानूनले तोकेको अवस्थामा मात्रै गर्भपतन गराउन सक्ने कानूनी व्यवस्था छ । मापदण्ड निर्धारण गरी सूचीकृत भएका चिकित्सकबाट सूचीकृत गरिएको संस्थामा गएर गर्भपतन गराउन पाइन्छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार गत आव २०७६÷७७ मा जिल्लामा पाँच हजार दुई जनाले सुरक्षित गर्भपतन गराएका छन् । यसमध्ये ८७९ जना २० वर्षमुनिका छन् । यसैगरी आव २०७५÷७६ मा सुरक्षित गर्भपतन गराउने चार हजार ६३६ मध्ये ४६४ जना २० वर्षमुनिका छन् । यसैगरी आव २०७४÷७५ मा यो सङ्ख्या चार हजार ४८१ रहेको छ । त्यसमध्ये ३४६ जना २० वर्षमुनिका थिए ।

विगतमा भन्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको भएपनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या त्यो भन्दा ठूलो हुनसक्ने उहाँको आँकलन छ । सामाजिक रुपमा हेरिने दृष्टिकोण, अवैध रुपमा रहेको गर्भलगायत कारण लुकिछिपी गर्भपतन गराउने गरेको पाइन्छ । डा सापकोटा कानूनी मान्यता पाएको कारण निर्धक्कसँग सुरक्षित गर्भपतन सेवा लिन आग्रह गर्नुहुन्छ । उहाँले भन्नुभयो, “गर्भपतन अपराध होइन, सूचीकृत संस्थामा तोकिएका चिकित्सकसँग मात्रै गर्भपतन गराउनुपर्छ ।” गर्भपतनसम्बन्धी कानूनी व्यवस्थाका बारेमा जनचेतना जगाउन सकेमा असुरक्षित गर्भपतनबाट अकालमा ज्यान गुमाउनेको सङ्ख्या निकै कमी आउने उहाँको भनाइ छ ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology