• Monday 5th of October 2026

सिरहामा विद्युत् चुहावट १० प्रतिशतले बढ्यो


  • गोकर्णेश्वर अनलाइन

कोरोना सङ्क्रमणका कारण चुहावट नियन्त्रण अभियान सञ्चालन नहुँदा सिरहाको लहान क्षेत्रमा आर्थिक वर्ष २०७६÷७७ मा विद्युत् चुहावट करिब १० प्रतिशतले बढेको छ । विगतका वर्षमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन हुँदा करिब २७ प्रतिशतमा झरेको चुहावट यस वर्ष ३६ दशमलव २५ प्रतिशतमा पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा विद्युत चुहावट अभियान सञ्चालन हुदाँ विद्युत् चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको थियो ।

सरकारले गत चैत महिनादेखि गरेको लकडाउन र फैलिँदो कोरोना सङ्क्रमणको सन्त्रासका कारण चुहावट नियन्त्रणका लागि गाउँगाउँमा टोली पठाउन नसकेका कारण चुहावट बढेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख ई धीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

यस्तै आर्थिक वर्ष २०७६÷७७ मा विद्युत्को महसुल नबुझाउने एक हजार ४२४ ग्राहकको विद्युत् लाइन काट्दा रु तीन करोड २९ लाख ८४ हजार ४८२ बाँकी बक्यौता रकम असुली भएको जनाएको छ । आव २०७५÷७६ मा विद्युत्को महसुल नबुझाउने ४४९ ग्राहकको विद्युत लाइन काट्दा रु एक करोड ९२ लाख १२ हजार ९२५ बाँकी बक्यौता रकम असुली भएको थियो ।

लामो समयदेखि विद्युत् महसुल नबुझाउने २७७ ग्राहकलाई कालोसूचीमा राखिएको र त्यस्ता ग्राहकको क्रमशः लाइन काटिने प्रमुख यादवको भनाइ छ । कालोसूचीमा रहेका ग्राहकबाट रु ६० लाख आठ हजार ४३८ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ३६ जनालाई पक्राउ गरी जरिवानावापत रु १७ लाख ८४ हजार ८६३ राजश्व सङ्कलन भएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका इञ्जीनियर रामजी साहले बताउनुभयोे ।

सो क्रममा २२० थान विद्युत् मोटरसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । कूल ५८ हजार ८८४ ग्राहकबाट विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आव २०७६÷७७ मा विद्युत् महसुल ९४ दशमलव ८२ प्रतिशत अर्थात् रु ३३ करोड ६६ लाख १६ हजार ४४० सङ्कलन गरेको इञ्जीनियर साहले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology