• Thursday 30th of July 2026

कैलालीमा सङ्क्रमण कम भएसंँगै जनजीवन सामान्यतर्फ


  • गोकर्णेश्वर अनलाइन

पछिल्लो समय कोरोना सङ्क्रमण कम भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । कैलालीको टीकापुरका नवराज बाब्ली पहिले काममा जान धेरै डराउनुहुन्थ्यो । कामबाट फर्किएपछि घरका सदस्य त्रासमा हुने गरेको र अहिले अवस्था सामान्य बन्दै गएको उहाँ बताउनुहुन्छ ।

“बजार निस्कियो कि मनमा धेरै डर हुन्थ्यो । घर पुग्दा अन्य सदस्यलाई कोरोना हुन्छ कि भन्ने त्रास मनमा सधैँ भइरहे पनि अहिले अवस्था सामान्य बनेको छ”, नवराजले भन्नुभयो, “स्वास्थ्य मापदण्ड अपनाउन सके कोरोनाबाट बच्न सकिँदोरहेछ । म जतिसँग घुलमिल भए पनि सुरक्षित हुन सफल भएको छु ।”

अवस्था सामान्य बन्दै गएपछि पछिल्लो समय स्थानीय तहले निर्माण गरेका आइसोलेशन वार्ड खाली भएका छन् । नागरिकमा कोरोनाप्रतिको त्रास घट्दै जानु, परीक्षणको दायरा कम हुनु र सङ्क्रमित भएका पनि घरमै बस्न थालेपछि आइसोलेशन वार्ड खाली हुँदै गएका हुन् । सरकारले स्थानीय तहमा कोरोना अस्थायी अस्पताल निर्माणका लागि बजेट खर्च गरेको भए पनि अस्थायी अस्पतालमा सन्नाटा देखिएको छ । टीकापुर नगरपालिकाको सिटीहललाई पाँच वटा स्थानीय तहले मिलेर आइसोलेशन वार्डका रुपमा विकास गरेका थिए । हाल नगरपालिकाले त्यही सिटीहललाई अस्थायी कोरोना अस्पतालका रुपमा विकास गरेको छ । अस्थायी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कार्यालय सहयोगी रहेका छन् ।

हालसम्म नगरपालिकामा ४६२ मा कोरोना सङ्क्रमण पुष्टि भएकामा अहिले नगरपालिकामा तीन जना सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताउनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणका कारण नगरपालिकामा पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य शाखा प्रमुख रावलले पछिल्लो समय कोरोना परीक्षणको दायरा घटाएको बताउँदै एन्टिजेन्ट टेष्टको प्रक्रिया शुरु गरेको बताएका छन् ।

“पिसिआर परीक्षण गर्दा धेरै समय लाग्ने र खर्च धेरै लाग्ने भएको हुँदा हामीले एन्टिजेन्ट टेष्टको तयारी गरेका छौँ”, स्वास्थ्य शाखा प्रमुख रावलले भन्नुभयो, “एन्टिजेन्ट टेष्टले आधा घण्टामै नतिजा दिन्छ । यसबाट छिटो नतिजा पाइने भन्दै सरकारले नै पिसिआरभन्दा एन्टिजेन्ट टेष्ट प्राथमिकतामा राखेको छ ।”

जानकी गाउँपालिकाले निर्माण गरेको कोरोना अस्थायी अस्पताल पनि खाली नै छ । पुरानो मःम सेन्टर रहेको भवनमा निर्माण गरिएको कोरोना अस्थायी अस्पतालमा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी नै खटिने गरेका छन् । कोरोना अस्थायी अस्पताल निर्माण गरिसकेको जानकी गाउँपालिकाले अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति व्यवस्थापनका लागि भने अझै सूचना सार्वजनिक गर्न सकेको छैन । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले अस्थायी अस्पतालका लागि आवश्यक जनशक्ति मागका लागि कार्यपालिकाबाट निर्णय भइसकेको बताउँदै केही दिनमै सूचना सार्वजनिक गरिने बताउनुभयो । “हामी केही ढिलो भएका छौँ । आन्तरिक व्यवस्थापनका कारण कर्मचारी नियुक्तिमा ढिलाइ भएको हो”, स्वास्थ्य शाखा प्रमुख चौधरीले भन्नुभयो, “अब केही दिनमै सूचना जारी गरी कर्मचारी नियुक्तिको प्रक्रिया शुरु गर्छौं ।”

जानकी गाउँपालिकामा हालसम्म १३३ जनाका कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुस १२ गते भन्दापछि गाउँपालिकामा कुनै सङ्क्रमित भेटिएको छैन । गाउँपालिकाले प्रत्येक शुक्रबार सम्भावित जोखिममा रहेकाको पिसिआर गर्दै आएको प्रमुख चौधरीले बताउनुभयो । भजनी नगरपालिकामा पनि अहिले कोरोना सङ्क्रमितको दर शून्यमा झरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कीर्तिसिंह विकले पछिल्लो केही दिनयता सङ्क्रमित नभेटिएको बताउँदै भजनी प्राथमिक स्वास्थ्य केन्द्रसँगै जोडिएको अर्को भवनमा कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology