• Friday 24th of July 2026

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्


  • गोकर्णेश्वर अनलाइन

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप लगाउँदै गर्दा चौधरीलाई मनमा केही डर पनि थियो ।

उहाँले खोप लगाउनुभयो त्यसपछि भने उहाँ ढुक्क हुनुभयो । “खोप लगाउनु दश मिनेटअगाडि पनि त्रासकै अवस्था थियो, मलाई पनि केही हुन्छ कि भन्ने डर थियो, तर खोप लगाइसकेपछि भने सबै डर हरायो”, चौधरीले भन्नुभयो, “खोप लगाएको पनि थाहा भएन, दुख्दा पनि दुखेन ।” चौधरीले खोप सुरक्षित रहेकाले प्राथमिकतामा परेका सबै स्वास्थ्यकर्मीलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो । “केही असर देखिने भए खोप लगाएको केही मिनेटमै देखिन्छ, मलाई केही भएन”, उहाँले भन्नुभयो । म्याग्दे गाउँपालिकाका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठले महिलातर्फबाट पहिलो खोप लगाउनुभयो । उहाँले पनि सबै स्वास्थ्यकर्मीलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आजदेखि दमौलीमा कोरोनाविरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो खोप लगाएका स्वास्थ्यकर्मीलाई चार हप्तापछि पुनः खोप दिइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १८ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाइन्छ । “खोप लगाएकाहरुलाई केही असर नदेखिएकाले यो खोप प्रभावकारी छ भन्ने हामीले ठहर गरेका छौँ”, अधिकारीले भन्नुभयो, “सबै स्वास्थ्यकर्मीलाई ऊर्जा प्राप्त भएको छ ।”

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले माघ १९ गतेसम्म जिल्लाका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाउँदैछ । खोप लगाउनका लागि दमौलीमा तीनवटा खोप केन्द्र तोकिएको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १४ र १५ गते, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका र घिरिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १६ र १७ गते, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका र देवघाट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १८ र १९ गते खोप लगाइँदैछ ।

अधिकारीका अनुसार व्यास नगरपालिकाका ५५८, म्याग्दे गाउँपालिकाका ८२, ऋषिङ गाउँपालिकाका ९८, शुक्लागण्डकी नगरपलिकाका २६७, भीमाद नगरपालिकाका १७७, घिरिङ गाउँपालिकाका ६१, भानु नगरपालिकाका १७१, आँबुखैरेनी गाउँपालिकाका ७३, बन्दीपुर गाउँपालिकाका १०५ र देवघाट गाउँपालिकाका ८७ जनालाई खोप लगाइँदैछ । स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीका अनुसार सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायतलाई यो खोप लगाइँदैछ ।

प्रदेश सरकारले मङ्गलबार मात्रै तनहुँलाई १८९ भायल खोप उपलब्ध गराएको थियो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले खोप लगाएकालाई ३० मिनेट चिकित्सकको निगरानीमा राखिने र केही असर देखिए तत्कालै उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology