• Monday 5th of October 2026

प्रधानमन्त्री ओलीद्वारा भरतपुर सिटीहलको शिलान्यास


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गर्नुभएको छ । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उहाँले आज शिलान्यास गर्नुभएको हो ।

शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो । देशको मध्यभागमा रहेर पनि ठूलो सभासमारोह आयोजना गर्न हलको अभाव भएपछि सरकारले सिटीहल निर्माण शुरु गरेको हो । सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो । सोही जग्गामा सिटीहल निर्माण थालिएको हो । सिटीहल निर्माणपछि यसको व्यवस्थापन भरतपुर महानगरले गर्नेछ ।

शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी हुनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले सिटीहलको शिलान्याससँगै ताम्रपत्र अनावरण गर्नुभएको थियो ।

कार्यक्रममा श्रीराम जानकी बालिका आश्रमका बालिकाले स्वस्तिवाचन गरेका थिए । सिटीहल निर्माणका लागि सङ्घीय सरकारअन्तर्गतको शहरी विकास डिभिजन कार्यालय चितवन र इन्डो सगुन रौताहा जेभी रुपन्देहीबीच सम्झौता भएको छ । जिल्ला समवन्य समिति पछाडि रहेको चार बिघा चार कट्ठा जग्गामा सिटीहल निर्माण गर्न लागिएको हो ।

मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकामा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार ३०० क्षमताको कन्फरेन्स हल रहनेछ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भ¥याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँले जानकारी दिनुभयो । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्यान्ड, बगँैचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ ।

उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्याल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हालसम्म यति सुविधासम्पन्न र सुन्दर सिटीहल नेपालमा बनेको छैन ।” दुई वर्ष तीन महिनाभित्रमा काम सम्पन्न गर्ने गरी मङ्सिर १८ गते सम्झौता भएको हो । सम्झौता भएलगत्तै कामलाई तीव्रता दिइएको छ । हाल जमीनमुनिको काम भइरहेको छ । सिटीहल बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिनेछ । देशको मध्यभागमा रहेको र सबै ठाउँबाट यातायातको सहज पहुँच भएका कारण राजनीतिक दल, तिनका भ्रातृ संस्था, विभिन्न सङ्घसंस्थालगायत कार्यक्रम गर्न यहाँ सहज हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology