• Monday 5th of October 2026

नगर विकाससँग सहकार्य गरिने छ : मुख्यमन्त्री भट्ट


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको समग्र विकासका लागि नगर विकास कोषसँग सहकार्य र समझदारी गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नगर विकास कोषले आज धनगढीमा गरेको प्रदेशस्तरीय नगरपालिका वित्त तथा क्षमता विकाससम्बन्धी कार्यशालामा मुख्यमन्त्री भट्टले संविधानअनुसार सहकार्य, सहअस्तित्व र समझदारीअनुसार प्रदेश सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

विकासका लागि स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,‘‘विकास गर्ने नेपालको आफ्नो अलग्गै ढाँचा छैन, व्यक्तिव्यक्तिका ढाँचा छन्, यसले समग्र क्षेत्रको विकास हुन सक्दैन ।’’ वित्त आयोगको वितरण प्रणालीको नीतिले पनि विकास सम्भव नभएको भन्दै उहाँले काम गर्ने पुरानो सोच र शैलीमा परिवर्तन गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व स्वीकार गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगर विकास कोषले तीनै तहका सरकारबीच पुलको काम गरी शहरी क्षेत्रमा आधारभूत पूर्वाधार जुटाउन प्रभावकारी भूमिका खेल्न जरुरी रहेको बताउनुभयो ।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बदलिँदो परिवेशमा अनुदानबाहेकको पर्याप्त स्रोत जुटाउन स्थानीय पालिकाबाट पहल हुनुपर्नेमा जोड दिँदै कोषले लगानी बढाउन र आन्तरिक स्रोत वृद्धि गर्नमा सहयोग गर्ने बताउनुभयो । कार्यशालामा नगर विकास कोषको दूरदृष्टि र चार वर्षे व्यावसायिक योजना, कोषको व्यवसाय प्रवद्र्धन तथा कार्य प्रक्रिया, सहलगानी तथा वैकल्पिक वित्तीय स्रोत परिचालन विधिलगायतका विषयमा प्रस्तुति र छलफल हुने जनाइएको छ ।

नगर विकास कोषले नेपाल सरकार र विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारको वित्तीय र प्राविधिक सहयोगमा नगरको सामाजिक, आर्र्थिक पूर्वाधारको विकास, विस्तार तथा नगरपालिका एवं साना शहरको क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ । कार्यशालामा सुदूरपश्चिम प्रदेशका ३४ नगरपालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology