• Monday 5th of October 2026

उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीको आह्वान


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी– व्यवसायीलाई आह्वान गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले रोजगारीका अवसरका साथै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ स्रोत परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्य उद्यमी–व्यवसायीलाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न तथा त्यसकै लागि लगानी बढाउन आग्रह गर्दै प्रधानमन्त्रीले नीतिगत एवं प्रक्रियागत झन्झट झेल्ने परिस्थितिको अन्त्य गर्न आफू लागिपरेको बताउनुभयो । “प्रक्रियाको जञ्जालबाट सरलीकरणतर्फ जान जरुरी छ, एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँछौँ, प्रशासनिक झन्झट पनि अन्त्य गर्छौँ”, उद्योगी–व्यवसायीले व्यहोर्नुपरेका कठिनाइबारे जानकार प्रधानमन्त्रीले त्यस्ता व्यवधान चिरेर छाड्ने दृढता व्यक्त गर्नुभयो । एकद्वार प्रणालीलगायत सरकारले उद्योग तथा लगानीमैत्री वातावरण बनाउन अवलम्बन गरेका सुधारका कार्यक्रमलाई अझ सरल र सहज तुल्याइने उहाँले बताउनुभयो ।

अत्यावश्यक उपभोग्य वस्तु मात्र आयात गर्न तथा निर्यातमूलक सामग्रीको उत्पादन बढाउन सुुझाउँदै प्रधानमन्त्रीले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनबाटै व्यापार असन्तुलन घटाउन सकिने बताउनुभयो । “देश निर्माण गर्ने सङ्कल्प र आत्मविश्वासका साथ अघि बढ्नुहोस्, तपाइँहरुलाई सघाउन सरकार तयार छ”, उहाँले भन्नुभयो, “राष्ट्रको औद्योगिक विकासका लागि सरकार स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेको तथा त्यसलाई कार्यान्वयन गर्न निजी क्षेत्रको साथ र सहयोग अपरिहार्य छ ।” देशको विकास र विकासको समुचित प्रतिफल नेपाली जनतामा पु¥याउने वर्तमान सरकारको लक्ष्यलाई साकार पार्न आफू क्रियाशील रहेको उहाँको कथन थियो ।

राष्ट्रको विकास तथा आर्थिक उन्नयनका लागि नीति, कार्यक्रम, योजना र लक्ष्य निर्धारण गर्ने मात्र नभई विषयगत रुपमा पनि लक्ष्य बनाएर सरकार अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गर्नुभयो । उहाँले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गर्दै सरसफाइ र व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । देशलाई पुनः ठप्प पार्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस् भन्नेतर्फ सम्पूर्ण नेपाली जनता जागरुक हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशको आर्थिक विकासका लागि अग्रपङ्तिमा रहेर काम गरिरहेको निजी क्षेत्रको प्रवद्र्धनमा सरकारले सघाउने प्रतिबद्धता व्यक्त गर्दै सरकारका लागि विश्वासिलो साझेदार तथा नेपाली जनताका लागि उन्नत भविष्यको सारथीका रुपमा चेम्बरले आफ्नो परिचय बनाएकामा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति एवं चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिड सङ्कटका कारण मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित भएको तथा यसले गति लिन नसकेको बताउँदै पर्यटनलगायत कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको उद्यमी–व्यवसायीका पीडा सुनाउनुभयो । “३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैँमा त्यति ठूलो नभएकाले अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतको अभावभन्दा पनि इच्छाशक्ति जरुरी देखिन्छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology