• Monday 27th of July 2026

कोरोना कहर : दिनरात नभनेर सम्हालिँदै बिरामीको उपचार


  • गोकर्णेश्वर अनलाइन

भजनी, ७ जेठ (रासस) : कैलालीको टीकापुर अस्पतालमा वैशाख ८ गते एकजना बिरामी उपचारका लागि आकस्मिक कक्षमा भर्ना भए । कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले बिरामीमा फरक स्वास्थ्य समस्या देखिएपछि एक्सरे गरेर हेर्दा बिरामीको छाती र फोक्सोमा जटिलता देखियो ।

बिरामीलाई भर्ना गरेर उपचार थालियो तर कोरोना जाँच भएन । वैशाख १२ गते उस्तै स्वास्थ्य समस्या भएका बिरामी थपिए । त्यो क्रम बढ्यो र १६ गते एकको ज्यान गयो । उपचारलाई आउने बिरामीको सङ्ख्या र मृत्यु हुने क्रम बढ्यो । चिकित्सकहरु सजग भए । नागरिकमा त्रास बढ्यो । बिरामीले अस्पतालको कम्पाउण्ड भरियो । एकैदिन अस्पतालमा एउटै स्वास्थ्य समस्याका ६० बिरामी भर्ना भए ।

वैशाख २६ मा ६ जनाले ज्यान गुमाए । स्थिति जटिल बन्दै गयो । सीमित स्वास्थ्यकर्मीले धान्न मुश्किल भयो । त्यसमाथि अक्सिजनको चरम अभाव । भोलिपल्ट ८ जनाले ज्यान गुमाए । उपचाररत बिरामीको डा. उपाध्यायको निगरानीमा उपचार हुँदै थियो । “म कत्ति आत्तिइन, किनकी मैले यसअघि यस्तै अवस्था भोगिसकेका थिए”, डा. उपाध्यायले भन्नुभयो, “टीकापुर आउनुभन्दा पहिले कोरोना पहिलो लहरमा काठमाण्डौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अवस्था मैले राम्रोसँग नियालेको थिए । त्यो अनुभवसहित पूरै टिमले हिम्मत जुटायौं र स्थिति सम्हालिन पुग्यो ।” उपाध्यायसँगै डा. संवाद खरेल र डा. सन्दिप यादव हुनुहुन्थ्यो । यो टिम वैशाख दोस्रो साताबाट पूरै समय अस्पतालमा छ । उहाँहरु दिनरात नभनेर बिरामीको उपचारमा संलग्न हुनुहुन्छ । “कति दिन सम्म त हामी सुत्न पाएनौं, त्यो बेला हाम्रा लागि निकै चुनौतीको बेला थियो”, डा. यादवले भन्नुभयो, “ त्यो बेला हाम्रा लागि सुत्नु भन्दा बिरामीको ज्यान जोगाउनु महत्त्वपूर्ण थियो । त्यसमा सबैको सान्त्वनाका कारण पनि हामिमा हौसला थपिएको हो ।”

अस्पतालमा स्टाफ नर्सको नेतृत्व नर्सिङ अधिकृत कमला बिष्टले सम्हाल्नुभयो । कोभिड जनरल वार्डमा चार नर्स खटिएपनि महामारीको खासै अनुभव थिएन । बिष्टले भन्नुभयो, “शुरुको अवस्था निकै चुनौतीपूर्ण रहयो । जेनतेन स्थितिलाई नियन्त्रणमा लिन हामी सफल भयौ ।” अहिले कोभिड जनरल वार्ड र उच्च उपचार कक्षमा २४ स्टाफ नर्स कार्यरत छन । प्रसुति वार्ड लगायतमा कार्यरत स्टाफ नर्सलाई पनि कोभिड वार्डमै परिचालन गरिएको छ । बिरामीको चाप अनुसार यो सङ्ख्या प्रयाप्त नभएको बताउदै नर्सिङ अधिकृत बिष्टले जतिसक्दो अभावको महसुश हुन नदिएको बताउनुभयो ।

अस्पतालमा बैशाख २८ गतेपछि अवस्था नियन्त्रणमा आएको छ । हाल ४३ जना उपचाररत र ५४ जना उपचार गरेर निको भई घर फर्किएका छन । करिव १५० जना सामान्य जाँच गरेरै निको भएका छन भने हालसम्म ३२ जनाले ज्यान गुमाएका छन । कोरोना फोकल पर्सन डा.उपाध्यायका अनुसार कैयौं व्यक्तिले टेलिफोनबाटै भनेको औषधि सेवन गरेरसमेत निको भएका छन । अस्पतालले कुनै स्वास्थ्य समस्या भए खबर गर्नु भनेर चिकित्सकको मोबाइल नम्बर सार्वजनिक गरेको छ । कतिपय व्यक्तिहरु उपचारका लागि अस्पताल आउन डराइरहेका बताउदै उपाध्यायले बिरामी घरमै बसेका कारण पनि जोखिम बढ्दै गएको बताउनुहुन्छ । चिकित्सकका अनुसार त्यस्ता व्यक्तिले आफ्नो मात्रै नभई घरपरिवारका सदस्यको स्वास्थ्य समेत समस्यामा पारिरहेका छन् ।

अस्पतालमा बिरामिले अक्सिजन नपाएरै ज्यान गुमाउन थालेपछि अस्पताल विकास समितिसँगै नागरिक समूहले अक्सिजन आपूर्तिका लागि अभियान थाले “अहिले पनि अक्सिजन आपूर्ति सहज छैन, तर अक्सिजन अभावमा कुनै बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन हामी सचेत छौ”, समितीका अध्यक्ष दिपक रावले भन्नुभयो, “ अभियानले कयौंको ज्यान बचाएको छ र चिकित्सकलाई उपचारमा हौसला मिलेको छ ।” उहाँले अक्सिजन आपूर्तिमा इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख रामबहादुर कुरुवाङको पहललाई अस्पतालले कहिल्यै नभुल्ने भन्दै विपत्तिमा टीकापुरले कुशल प्रशासक पाएका कारण पनि काम गर्न सहज भएको बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology