• Monday 27th of July 2026

सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेशन


  • गोकर्णेश्वर अनलाइन

ललितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो ।

ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त परिवारमा रहँदा बिरामीका लागि छुट्टै कोठा अनि शौचालयको प्रयोग गर्न सम्भव नभएका मानिसलाई दृष्टिगत गरी सुनाकोठीस्थित पोषण पुनस्र्थापना गृह र बागडोलस्थित ज्यापू समाजको भवनमा विना शुल्क आइसोलेशनको सुविधा दिइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा हाल कोरोनाको सङ्क्रमण दर घट्दै गएकाले मात्रै यी दुई ठाउँमा कोभिडका बिरामी राख्ने व्यवस्था गरेका छौं, यदि बिरामी दर बढ्दै गएमा पाटनढोकास्थित पाटन माविमा समेत आइसोलेशनको व्यवस्था गर्ने सोच अघि बढाइसकेका छौं ।” उक्त गृहमा ५० र समाजमा ११० गरी कूल १६० क्षमताको आइसोलेशन कक्षबाट बिरामीलाई निःशुल्क सुविधा दिइरहेको महर्जनले जनाउनुभयो ।

गृहमा आज मात्रै ३५ जनाले उपचार सेवा लिइरहेका नेपाल युथ फाउण्डेशनका कार्यकारी निर्देशक राजु धमलाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ चार हाई डिपेनडेन्सी युनिट (एचडियु) को व्यवस्था गर्नाका साथै अक्सिजनसहित दुई मेडिकल अफिसर तहका चिकित्सका साथमा आवश्यक स्वास्थ्यकर्मीले सेवा गरिरहनुभएको छ, हिजोसम्म करीब ११० ले उपचार सेवा लिएर गइसके ।”

सो स्थानमा आउने बिरामीमध्ये कसैलाई आइसियु सेवा आवश्यक परेमा कार्यालयको एम्बुलेन्समार्फत अस्पतालसमेत पु-याइदिने गरिरहेको धमलाले बताउनुभयो । यसैगरी समाजमा आज ३३ बिरामीले उपचार सेवा लिइरहेका ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो ।

त्यसैगरी सो ठाउँमा उपचार गर्न आउने बिरामीमा मनोसामाजिक त्रास भेटिँदा परामर्शदाताको व्यवस्थासमेत गरिदिएको महानगरपालिकाले जनाएको छ । यसअघि गृहले मुलुकमा पहिलो लहरको कोरोना महामारी भित्रिँदा खाडी मुलुकबाट स्वदेश फर्कने महिलाका स्वास्थ्यलाई ख्याल गरी क्वारेन्टिनको सुविधा दिएको धमलाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology