• Monday 27th of July 2026

बाँकेमा आज थप सात सङ्क्रमितको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ ।
जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार ५ः३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ । ओलीका अनुसार मृतकमध्ये दुई÷दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एक÷एक गरी सात जना छन् ।
राजस्व सङ्कलनमा १०९ प्रतिशत वृद्धि
बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा राजस्वमा वृद्धि हुँदा रु १७ अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्ष २०७७÷७८ मा सरकारले तोकेको लक्ष्य रु १८ अर्ब रहेको थियो । गत आव २०७६÷७७ मा १४५ प्रतिशत राजस्व वृद्धि भई रु १५ अर्ब १८ करोड सङ्कलन भएको थियो ।
गत वर्षको प्रगतिका आधारमा सरकारले यस वर्ष रु तीन अर्ब थप गर्ने लक्ष्य राखेको थियो । राजस्व सङ्कलन गर्न जिम्मेवारी दिंदा आफूहरुलाई मन्त्रालय र विभागले तोकिएको लक्ष्य बाँकी डेढ महिनामा हासिल हुने भन्सार अधिकृत भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार यस वर्षको राजस्व सङ्कलन वृद्धिदर हेर्दा १०९ प्रतिशतले हासिल भएको छ । सबैभन्दा बढी राजस्व सङ्कलन हुने सीमा नाकाको रुपमा रहेको जेठ १५ गतेसम्म मात्रै रु एक अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कोरोनाको प्रतिकूल समयमा पनि राजस्व चुहावट हुन नदिँदा राजस्वमा वृद्धि भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अनुगमन पद्धतिलाई बलियो बनाएका छौँ, त्यसैले गर्दा राजस्व सङ्कलन गर्न सफल भएको छौँ ।”
भारतीय सीमा नाका भएको हुनाले भारतबाट आयात हुने सबैभन्दा बढी औद्योगिक सामान, पेट्रोलियम पदार्थ, खाद्यान्नजस्ता सामग्री यही नाका हुँदै आयात हुने गर्दछ भने नेपालबाट जङ्गली जडीबुटीहरु, सुगन्धित तेलहरु निर्यात हुने गर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology