• Monday 27th of July 2026

बेनी अस्पताललाई तीन लाख ७१ हजारको सहयोग


  • गोकर्णेश्वर अनलाइन

म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु तीन लाख ७१ हजार मूल्य बराबरको सहयोग गर्नुभएको छ ।

दिवङ्गत छोरा डा मङ्गल केसीको १२औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ बेड सेट, ६ थान फुट स्टेप, ६ थान डिलक्स बेड साइड लकर सहयोग गर्नुभएको हो । आज अस्पतालमा आयोजित कार्यक्रममा दिवङ्गत केसीका हजुरबुबा टेकबहादुर, आमा हरिकला, फूपु जुनेली थापा र मामा बेलबहादुर कटुवालले अस्पतालका प्रमुख डा जीतेन्द्र कँडेललाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
‘‘पछि परेका समुदायका नागरिकको उपचार गरी सेवा गर्ने उहाँको चाहना थियो, तर चाहना पूरा हुन पाएन, कम्तीमा उहाँले राखेको उद्देश्यलाई घरपरिवारले पनि त पूरा गरिदिन सक्छौँ भनेर अस्पताललाई सहयोग गरिएको हो’’, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका दिवङ्गत केसीका मामा बेलबहादुर कटुवालले भन्नुभयो ।

उक्त अवसरमा केसीका घरपरिवारले बेनी अस्पतालमा उपचाररत बिरामीलाई फलफूलसमेत वितरण गर्नुभएको थियो भने अस्पतालका प्रमुख डा कँडेलले नयाँ वार्ड सञ्चालनको लागि आवश्यक सामग्रीको बन्दोबस्त मिलाइदिएकोमा केसीका परिवारलाई धन्यबाद दिँदै प्राप्त सामग्रीको सही उपयोग र संरक्षण गरिने बताउनुभयो । गण्डकी प्रदेश सरकारमार्फत उपलब्ध भएको रु ३५ लाख बजेटबाट बेनी अस्पतालमा १२ श्यया देखि १५ श्यया क्षमतासम्म वार्ड सञ्चालन गर्न सकिने भवन निर्माण भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology