• Monday 27th of July 2026

थपिँदै भाइरल ज्वरोका बिरामी


  • गोकर्णेश्वर अनलाइन

जिल्लामा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिँदै गएको छ । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाले जनाएको छ । उक्त अस्पतालमा मात्रै दैनिक १० देखि १५ भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिनुभयो ।

यसैगरी जिल्ला अस्पतालमा पनि पछिल्लो दुईहप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीले बताउनुभयो । अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०÷७० प्रतिशत बिरामीमा भाइरल ज्वरोको समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले बताउनुभयो ।

यहाँका निजी मेडिकल तथा पोलिक्लिनिकमा समेत उक्त रोगका बिरामी बढ्दै गएका मुकेश मेडिकल हल दिपायलका मुकेश यादवले जानकारी दिनुभयो । यहाँका सहरी क्षेत्रका अस्पताल भन्दा पनि गाउँघरमा रहेका निजी मेडिकलमा उपचार गराउन आउने भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढी रहेको जोरायल गाउँपालिका–३ की यशोदा मल्लले बताउनुभयो । यहाँका निजी मेडिकलमा उच्च पावरको औषधि दिने तथा ज्वरो चाँडै निको हुने भएकाले पनि उक्त रोगका बिरामी सरकारी अस्पतालभन्दा पनि गाउँमा खोलिएका निजी मेडिकल प्रति बढी आकर्षित हुने गरेका अर्का स्थानीयवासी करनसिंह खत्रीले बताउनुभयो ।

मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको शैलेश्वरी अस्पतालका डा ललितकुमार लिम्बूले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology