• Saturday 25th of July 2026

वाग्मतीमा १८ लाखले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाए


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् ।

वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ । प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको सङ्ख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ ।

देशभर कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या हालसम्म ५५ लाख ३३ हजार ७९४ रहेको छ ।

प्रहरीद्वारा ११ लाखलाई निःशुल्क मास्क वितरण

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत हालसम्म ११ लाख दुई हजार ३२२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार उक्त कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म सो परिमाणमा निःशुल्क मास्क वितरण गरिएको हो । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ नारासहित ‘तपाईंको मास्क खै ?’ अभियानअन्तर्गत निःशुल्क मास्क वितरण गर्दैआएको छ । स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार २६६ जनालाई सम्झाई बुझाइ छाडिएको छ । माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको सचेतना मूलक कार्यक्रमअन्तर्गत आठ हजार २३२ जनालाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology