• Saturday 25th of July 2026

स्वास्थ्यकर्मीमाथि हातपातः कारबाहीको माग


  • गोकर्णेश्वर अनलाइन

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बिरामीका आफन्तले हातपात गरेका हुन् । केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले जनाएको छ । प्रतिष्ठानका अनुसार दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारका लागि कारमा आएका ती घाइते व्यक्तिलाई अस्पतालको आकस्मिक कक्षसम्म पु-याउन स्टेचर नभएको भन्दै उनका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मीलाई प्रहार गरेको हो ।

कुर्सी प्रहारबाट अस्पतालमा कार्यरत प्रशिक्षार्थी स्वास्थ्यकर्मी समृद्धि श्रेष्ठको खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २० वर्षीय श्रेष्ठ अध्ययनपश्चात प्रशिक्षणका लागि हेटौँडा अस्पतालमा आउनुभएको थियो । उक्त घटनापछि आक्रोशित बिरामीका आफन्तले बिरामीलाई तत्काल हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पतालमा लगेको जनाइएको छ ।

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको बेला रातको समयमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउन हेटौँडा अस्पतालले प्रहरीसमक्ष मौखिक जानकारी दिएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिनुभयो ।

उहाँले सिसीटिभी फुटेज र आवश्यक प्रमाणसहित आज प्रहरीसमक्ष लिखित उजुरी दिएर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology