• Monday 27th of July 2026

सुदूरपश्चिममा १९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाए


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी यहाँ चार लाख ७५ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । झण्डै २५ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिमका नौवटै जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप (दुवै मात्रा) लगाउने काम सकिएको छ ।

“पहिलो मात्रा लगाउनका लागि केन्द्रबाट खोप आएपछि सुरु हुन्छ”, निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भन्नुभयो, “अहिले तत्काल खोप अभियान चलायमान छैन ।” सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा एक लाख ७५ हजार ४२८ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसैगरी कञ्चनपुरमा ९३ हजार ५४९, अछाममा ४२ हजार ५३४ ले कोरोनाविरुद्धको खोप लगाएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी बैतडीमा ४१ हजार ६८८, डोटीमा ३६ हजार ४९४, दार्चुलामा २६ हजार ४७४, बझाङमा २५ हजार ७९१ ले खोप लगाएका छन् भने डडेल्धुरामा २१ हजार ४३६ र बाजुरामा १२ हजार १८ लाई कोरोनाविरुद्धको खोप लगाइएको कोभिड–१९ सम्र्पक व्यक्ति जोशीले जानकारी दिनुभयो । यहाँ कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनलगायतका खोप लगाइएका थिए । पहिलो चरणमा खोप अभियान सञ्चालन गर्दा यहाँ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिलगायत गरी ३८ हजार ३०२ ले खोप लगाएको निर्देशनालयले जनाएको छ ।

कोरोनाका कारण सुदूरपश्चिम प्रदेशमा २४५ ले ज्यान गुमाएका छन् । कोरोनाबाट थलिएको सुदूरपश्चिममा अवस्थामा सामान्य बन्दै गएसँगै स्थानीय प्रशासनले गरेको लकडाउन खुकुलो बनाउनका साथै जनजीवन सामान्य बन्दै गएको छ । सङ्घीय, प्रदेश र स्थानीय पालिकाले यहाँ स्वास्थ्य पूर्वाधार निर्माण र स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण थप्न पहल गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology