• Saturday 25th of July 2026

दसैँमा पनि भारत जानेको लर्को


  • गोकर्णेश्वर अनलाइन

महोत्तरी, २४ असोज (रासस) : दसैँ, तिहार र छठजस्ता राष्ट्रिय महत्वका पर्वमा पनि यहाँका भारतीय सीमावर्ती नाकामा घर आउनेभन्दा काममा जानेको लर्को देखिँदो छ । जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीलगायत भारतीय सीमानाका हुँदै अहिले सयौँ युवा तथा किशोर कामका लागि भारतर्फ जाँदै देखिँदा छन् । अहिले दसैँ पर्व प्रारम्भ भइसकेको छ भने तिहार र छठलगत्तै अर्को पक्षको अन्त्यसँगै सुरु हुँदैछ ।

गत वर्ष २०७७ को प्रारम्भदेखि नै कोभिड–१९ महाव्याधि छल्न घर आएका युवा तथा किशोर अहिले आवतजावत अलि सहज भएपछि चाडपर्व नै नभनी कामका लागि भारत जाने क्रम देखिएको हो । महाव्याधि सन्त्रासले झण्डै डेढ वर्ष काम छाडेर घर बसेका युवा तथा किशोर अहिले चाडवाड पनि नभनी कामका लागि भारत जान लागेका हुन् ।

“केही वर्ष पहिले हामी चाडवाडमा घर आउँथ्यौँ”, भारतको पञ्जाब जान सम्सी नाकामा भेटिएका जिल्लाको औरही नगरपालिकाको टिम्किया बस्तीका २५ वर्षीय परेग्वा सादा मुसहरले भन्नुभयो, “तर, यसपालि दसैँको मुखमा जानुपरेको छ ।” कोभिड–१९ माहामारीले काम छाडेर घर फर्केयता जहान परिवार पालनमा समस्या बढेपछि चाडवाड पनि नभनी काममा फर्कनुपरेको परेग्वासहितका उहाँको टोलीमा रहेका युवाको भनाइ छ ।

यसरी अहिले भारततिर जाने लर्कोमा आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक अवसरबाट बञ्चित रहँदै आएका मुसहर, तत्मा, चमार, बाँतर र दुसाध जाति समुदायका किशोर तथा युवा बढी देखिएका छन् । पञ्जाव र हरियाणातिर कृषि कार्यका लागि तथा भारतका अन्य प्रान्तमा अन्य मजदुरी गर्न जानेमा १३ वर्ष उमेरदेखि ३० वर्ष उमेर समूहका बढी देखिन्छन् ।

घरमा अन्नपात र दुई÷चार पैसोको जोहो भएमात्र चाडपर्व रमाइलो हुने भारततिर जान लागेका युवा तथा किशोरको आम भनाइ छ । “झण्डै दुई वर्ष हुनलाग्यो पञ्जावबाट फर्केको, यहाँ मनमाफिकको काम र पारिश्रमिक पाइँदैन”, दसैँको मुखमा आपूmले गरेको पुरानो काममा भारतको हरियाणा जान हिंडेका भङ्गाहा नगरपालिका–४ पलार बस्तीका रामदयाल बाँतरले भन्नुभयो, “चाडवाडमा पेट बाँधेर यहाँ बस्नभन्दा काममा जानु ठिक ठानेर हिँडेका हौँ ।” उता (भारत) गएर राम्रो काम भेटिए थोरबहुत कमाइ लिएर होली (फागुपर्व)मा घर आएर स–साना नानीसँग रमाउने धोको साँचेको बाँतरले भावविह्वल हुँदै बताउनुभयो ।

जिल्लाका यी जाति समुदायका बस्तीमा अहिले दसैँको रौनक देखिँदैन । आमा, दिदीबहिनी र आफन्तले भारी मनले भारत जान बिदा दिइरहेका छन् । “पल्लो टोलका मालिक (मुसहरले कथित उपल्लो जात भनिने जाति समुदायका लागि मालिक सम्बोधन गर्छन्)को घरमा अब एक÷दुई दिनभित्रै छोट्का मालिक (घरमुली मालिकको छोरा) आउने कुराको खुशी छ”, भङ्गाहा–४ कै रामनगर बस्तीको मुसहरीटोलकी ४० वर्षीया हेमनी सादाले भन्नुभयो, “हामी फगुवा (होली) पवनीमा खुशी हुने आश साँचेर अहिले छोरालाई पञ्जाव जान बिदा दिँदैछौँ ।”

जिल्लाका मुसहर, बाँतर समुदायको सघन बसोबास भएका धेरैजसो बस्तीमा अहिले हरियाणा, पञ्जाव जाने किशोर र युवा धमाधम निस्कँदै छन् । कतिपय बस्तीमा हिँड्ने तयारी देखिँदो छ । चाडपर्वका मुखमा छोरालाई बिदा गर्नुपर्दा मन भारी भए पनि यहाँ भोकै बस्नभन्दा काममा जान नै उचित हुने घरका अभिभावक बताउँछन् ।

खासमा कृषिकार्यमा पोख्त मानिने मुसहर समुदायका उमेरदारी युवाको भारत पलायनले यहाँ जनशक्तिकै अभावमा खेती चौपट भइरहेको किसान बताउँछन् । समयमा जन (मजदुर) नपाउँदा खेतबारी बाँझो बस्ने क्रम बढ्दै गएको बर्दिबास नगरपालिका–९ का किसान सुरजसिंह कुशवाहाको भनाइ छ । कृषिकार्यमा राज्यबाट भरथेग नपाउँदा किसानले मजदुरलाई राम्रो पारिश्रमिक दिन नसक्नु र यहाँको कमाइले गुजारा नचलेपछि भारत जानुपर्ने गरिबको वाध्यता बनेको कुशवाहा बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology