• Saturday 25th of July 2026

भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई समस्या


  • गोकर्णेश्वर अनलाइन

एकहत्तर वर्षीया धनसरी थापा सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताउनुभयो । उहाँलाई घरबाट दल्ली पुग्न दुई दिन लागेको थियो । राम्रोसँग टाढा देख्न नसक्ने उहाँलाई यसरी दुःख दिएकामा नरमाइलो लागेको लागेको छ । आउँदा, जाँदा बाटोमा उहाँका करिब चार हजारभन्दा बढी रुपैयाँ खर्च भइसकेका छन् । बूढो शरीर, आधा बाटो हिँडेरै आएको र आधाबाट गाडीमा आएको भन्दै उहाँले भन्नुभयो, “घरघरमा लिएर बुझाएको भए राम्रो हुने थियो । धेरै दुःख पाइने गर्छ । पहिला पहिला घरमै बुझाउँथे तर बीचमै आधार रकम आफूले खाएर हामीलाई दिएको पनि थाहा पाऔँ, बैंकले नै घुम्ती सेवा लिएर भत्ता बुझाएको भए कति राम्रो हुन्थ्यो ।”

यहाँका ज्येष्ठ नागरिक, एकल महिलाहरुको काम सोमबारसमेत पूरा नभएपछि मङ्गलबार हुने आश गरेको अर्की कुमारी विकले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो छिमेकी जिल्ला रुकुम पश्चिमको आठबीसकोटमा बैंकका कर्मचारी गाउँमै गएर भत्ता बुझाएका थिए, हामीलाई पनि त्यस्तै गरेको भए राम्रो हुने थियो । आउँदा, जाँदा धेरै दुःख पाइन्छ र पैसा पनि आधा खर्च भइहाल्छ ।”

नलगाडको सबैभन्दा टाढाको वडाका रुपमा रहेको वडा नं ११, १२ र १३ रहेको छ । डोल्पाको सिमानासँग जोडिएका यी वडामा बसोबास गर्ने सर्वसाधारणलाई पालिकाको मुकामसम्म आउन र जानमात्र दुई दिनभन्दा बढी लाग्छ । सम्बन्धित व्यक्तिबाहेक अरू आएमा बैंकले रकम भुक्तानी नगर्ने भएकाले आफैँ रकम लिन आउनु परेको स्थानीवासी हस्त कामीले बताउनुभयो ।

जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने यी ठाउँहरु दुर्गम मध्यमा पर्दछन् । सामाजिक सुरक्षा भत्ता बुझ्न आउने सबै नागरिकलाई चार, चार महिनामा दुःख बैंक आउँदा समस्या हुने गरेको छ । नगरपालिकाबाट वितरण हुँदै आएको पोषण भत्तासमेत पूरा नपाएको उनीहरुका गुनसो छन् । त्यस्तै पश्चिम जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणहरुसमेत सदरमुकाम आएर भत्ता बुझ्ने गरेका छन् । जिल्लाको टाढा मध्यको पालिका जुनिचाँदेसमेत पर्दछ । पालिकामा बैंक स्थापना नहुँदा सदरमुकाम आएर सबै कारोबार गर्नुपरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology