• Saturday 25th of July 2026

सङ्कीर्ण जातिवादले राष्ट्रिय पहिचान बन्न सक्दैन : अध्यक्ष ओली


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्कीर्ण जातीय पहिचानका नाममा राजनीति गरेर मुलुकको राष्ट्रिय पहिचान नबन्ने भएकाले जात, रङ वा धर्मका आधारमा नभई वर्गीय दृष्टिकोणका आधारमा समाजलाई हेर्न र बुझ्न सक्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले नेपालीले सही विश्लेषणका आधारमा नेपालको ऐतिहासिकता र मौलिकताको उजागर गर्न सक्नुपर्नेमा जोड दिनुभयो । राम नेपालकै अयोध्यामा जन्मेका हुन् भन्नु वा पशुपतिनाथलाई संरक्षण गर्दै त्यहाँभित्रको वैज्ञानितालाई जनताका पक्षमा उपयोग गर्न खोज्दा त्यसलाई आध्यात्मवादसँग जोड्नेहरुप्रति आफूलाई दया लाागेको अध्यक्ष ओलीको भनाइ थियो ।

“वामपन्थीहरूको बहुमतको सरकार ढालेर दर्शन नमिल्ने विपक्षीको पछि लाग्ने अनि समाजवादको नेपाली बाटोको कार्यदिशा लिइनु कलङ्कीतिर हिँडेर भक्तपुर जाँदैछ भन्नुजस्तै हो”, नेकपामा भएको विभाजनतर्फ लक्ष्य गर्दै अध्यक्ष ओलीले, “जनतालाई यतिसम्म ढाँट्ने यो एक प्रकारले भीषण सांस्कृतिक विचलन हो । हामीले योजनाबद्धरूपमा सांस्कृतिक क्षेत्रलाई गतिशील बनाउन लाग्नुपरेको छ ।” एमाले फुटाउनुलाई अग्रगमन मान्ने पक्षलाई जवाफ दिँदै उहाँले एमालेले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनलाई आत्मसात् गरेर हिँड्ने पार्टी भएको जनाउनुभयो ।

उहाँले मुलुकमा नेताहरूका लामा भाषणको तुलनामा जनस्तरमा चेतना र परिवर्तनको बिगुल फुक्नका लागि सांस्कृतिक कर्मीका लेख, रचना र प्रस्तुतिले असाधारण योगदान दिएको बताउनुभयो । वरिष्ठ साहित्यकार डा मोदनाथ प्रश्रितले नेपालको बहुभाषिक र बहुसांस्कृतिक एवं समानताको भावयुक्त संस्कृतिका मौलिक पक्षलाई संरक्षण गर्दै वैज्ञानिक रुपान्तरणका लागि स्रष्टाहरूले पञ्चायतकालदेखि नै योगदान दिएको बताउनुभयो ।

एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले विश्वको परिवेशलाई समेत ख्याल गरेर कम्युनिष्ट धारलाई जनतामुखी बनाउन संस्कृतिकर्मीको भूमिका हुने बताउनुभयो । एमालेका जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले महासङ्घले सबै कलाकर्मीलाई एकतबद्ध बनाउँदै एमालेले मुलुकको पहिलो शक्तिका रूपमा स्थापित गर्ने भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ, महासङ्घका अध्यक्ष खगेन्द्र राईलगायतले संस्कृतिकर्मीको अहिलेको कार्यभारलाई मनन गरेर जातीय पहिचानका नाममा हुने राजनीति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology