• Saturday 25th of July 2026

‘अपराध नियन्त्रण गर्न समाजको सहयोग आवश्यक’ – प्रहरी वरिष्ठ उपरीक्षक गिरी


  • गोकर्णेश्वर अनलाइन

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले वैष्णवी माताको जात्राको पूर्वसन्ध्यामा आज बिहान यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेण्डर विमोचन’ कार्यक्रममा उहाँले समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

“समाजमा हुने विकृति, विसङ्गति र चोरीका घटनाको अन्त्यका लागि सबैको साथ र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो । सिसी क्यामरा नभएको ठाउँमा चोरीका घटना धेरै बढेको भन्दै यसलाई नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको प्रहरी वरिष्ठ गिरीले बताउनुभयो । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताउनुभयो ।

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टुँडालदेवीको विकासका लागि सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको उहाँको भनाइ छ । सामुदायिक सेवा केन्द्रले टुँडालदेवी मन्दिर परिसरमा पाँचकोठे क्रियापुत्री भवन सञ्चालन गरेको छ । उक्त क्रियापुत्री भवनलाई आज समाजसेवी ओजस्वी शाहले २५ थान कम्बलसमेत वितरण गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिका–४ का वडाध्यक्ष मोहनबहादुर विष्ट, नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक अमरसिंह शाहलगायतले समाजमा हुने आपराधिक क्रियाकलाप अन्त्यका लागि प्रहरी र स्थानीयवासीबीच सहकार्यको खाँचो रहेको बताउनुभयो । विसं २०५९ मा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्रले काठमाडौँ–४ मा हुने विकृति विसङ्गति अन्त्यका लागि विभिन्न सामाजिक काम गर्दै आएको केन्द्रकी प्रमुख, प्रहरी सहायक निरीक्षक कल्पना थापा धमलाले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाली सेनाका पूर्वअधिकृत, नेपाल प्रहरीका पूर्वअधिकृतलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology