• Saturday 25th of July 2026

आँधीखोलामा झोलुङ्गे पुल निर्माण


  • गोकर्णेश्वर अनलाइन

स्याङ्जाको गल्याङ नगरपालिका ७ र ८ जोड्न आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । हेर्दा वारिपारि जस्तोदेखिए पनि आँधीखोलाले बनाएको गल्छी पार गरेर वा अन्यत्रैबाट घुमेर आउँदा घण्टौँ समय खर्चनुपर्ने अवस्था अन्त्य गर्नका लागि गल्याङको पेलाकोट र वडा नं ८को चिउरीलाई जोड्न पुल निर्माण गरिएको हो ।

नुवाकोटको एसए शैलेन्द्र जेभीले २०७७ असारमा निर्माण सुरु गरेको उक्त पुल २०७८ वैशाखमा सक्नुपर्ने भए पनि कोरोनाका कारण समयावधि थप गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।उक्त पुल २०७९ साउन २० सम्ममा सक्नेगरी समयावधि थप गरिएकामा निर्धारित समयअगावै सम्पन्न भएको हो । तीनसय अठसठ्ठी मिटर लामो पुल निर्माणका लागि रु एक करोड ८३ लाखमा ठेक्का सम्झौता भएको थियोे । पुल निर्माणसँगै विशेषगरी गल्याङ र पेलाकोटका नागरिकलाई छिटो आवत–जावत गर्न सहजा हुनाका साथै सिद्धार्थ राजमार्गसित पनि जोडिएको छ ।

पुलको अभावमा एक घण्टाभन्दा बढी समय लगाएर सिद्धार्थ राजमार्गमा आउनुपर्ने बाध्यता छोट्याउनका लागि पुल निर्माण गरिएको गण्डकी प्रदेशका सांसद भागवतप्रकाश मल्लले बताउनुभयो ।
आव २०७६÷७७ मा बजेट विनियोजनपश्चात् डिपिआर भई बोलपत्र आह्वान गरेर निर्माण थालिएको उहाँले जानकारी गराउनुभयोे । “पुल निर्माणसँगै घण्टौँ समय लगाएर आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य भएको छ”, सांसद मल्लले भन्नुभयो, “स्थानीयवासीलाई आवतजावतमा सहजता हुनाका साथै पुल लामो र अग्लोसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्नेछ ।”

पुल निर्माणसँगै अहिले सामाजिक सञ्जालमा तस्वीर राख्ने, टिकटक बनाउनेहरु बढ्दै गएका छन् । यातायातको असुविधा तथा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा दर्शनार्थीलाई पुग्न सहज हुने भएको छ । पुल निर्माणसँगै स्थानीय उत्पादनलाई बजारसम्म पु-याउनका लागि टेवा पुग्नाकासाथै धार्मिक पर्यटन र साहसिक पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार थप गर्दै लैजानु आवश्यक रहेको स्थानीयवासीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology