• Saturday 25th of July 2026

मुसहर युवायुवतीको बालविवाह नगर्ने प्रतिबद्धता


  • गोकर्णेश्वर अनलाइन

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । पोखरियामा लैङ्गिक रुपान्तरणका लागि सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन विषयक कार्यक्रममा वडा नं ४ पोखरियाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका वडाध्यक्ष सञ्जीवसिंह दनुवारले जानकारी दिनुभयो ।

मुसहर महिला सशक्तीकरण मञ्चमा आबद्ध भएपछि आफूहरुमा क्षमता विकास र सशक्तीकरणको चेतना वृद्धि हुँदै आएको भन्दै उनीहरुले अब बालविवाह नगर्ने जनाएका हुन् ।मासिक बचत्त सङ्कलन गर्दै आएका त्यहाँका बालबालिकाले आफूहरुलाई कमाएको जति सबै खाएर उडाउने समुदाय भनेर आरोप लाग्ने गरेकामा अब समुदायमा नयाँ तरङ्ग ल्याउने बताए । आफूहरुले मासिक गर्ने बैठकको भत्तासमेत बैंकमा खाता खोलेर जम्मा गर्दै आएको समूहकी अगुवा सुनिता माझी (मुसहर)ले बताउनुभयो ।

आफ्नो समुदायको सशक्तीकरणमा लगानी गर्न स्थानीय सरकारसँग आग्रह गर्दै आएको, आफ्नो समुदाय तथा घरपरिवारका सदस्यको खराब व्यवहार सुधारका लागि विभिन्न समयमा तालिम लिने गरेको र तालिममा सिकेका कुरा व्यवहारमा लागू गरिने उहाँको भनाइ थियो । अगुवा माझीका अनुसार सशक्तीकरण मञ्चका सदस्यका परिवारलाई पनि व्यवहार परिवर्तन र सशक्तीकरणका विषयमा समयसमयमा तालिम दिने गरिएको छ ।

वडाध्यक्ष दनुवारले मुसहर बालबालिकाको जन्म दर्ता गराउन सहयोग गर्ने, दलित विद्यार्थीलाई विद्यालयमा पठाउने वातावरण तयार गर्न वडा कार्यालयले गर्नसक्ने सबै गर्ने बताउनुभयो ।सर्लाहीको दलित तथा मुसहर समुदाय लैङ्गिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा अझै निकै पछाडि परेको छ ।
असमानताको खाडललाई कम गर्न घरपरिवारदेखि नै परिवर्तनको सुरुआत गर्नुपर्दछ भन्ने उद्देश्यले सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन गर्न समयसमयमा तालिम आवश्यक पर्ने साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका चार स्थानीय निकायका १५० घरपरिवारका ७५० माझी मुसहरलाई लैङ्गिक रुपान्तरणका लागि सामाजिक व्यवहार परिवर्तन तथा मूल्यमान्यतासम्बन्धी तालिम दिइ सकिएको छ ।

मुसहर समुदाय गरिबी, अशिक्षा, चेतनाको कमीका कारण हरेक क्षेत्रमा पिछडिएका अगुवा पचुलाल माझीले बताउनुभयो । बालविवाह, मद्यपन तथा धूमपान, दाइजो प्रथा, जातीय छुवाछूत र विभिन्न सामाजिक मूल्यमान्यता आदिका कारण आर्थिक र सामाजिकरुपमा मुसहर समुदाय कमजोर रहेकाले खराब बानी व्यवहार हटाएर राम्रो कामको सुरुआत गर्नुपर्ने उहाँको भनाइ थियो ।जिल्लाको बरथहवा, हरिपुर, बसबरीया र चन्द्रनगर गाउँपालिकामा मुसहर समुदायलाई समय–समयमा तालिम सञ्चालन हुँदै आएकोे छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology