• Saturday 25th of July 2026

चौधर नदीको बाढीले सार्कीपार्की गाउँ उच्च जोखिममा


  • गोकर्णेश्वर अनलाइन

चौधर नदीको बाढीले बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँका बासिन्दाको जग्गा कटानी गरी बगाउन थालेको छ । नदीको बाढीले जग्गा कटान गर्दा स्थानीय क्रिसन भुलको परिवार विस्थापनमा परेको छ ।

सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सहयोगमा भुलको कच्ची घरलाई आज सुरक्षित स्थानमा सारिएको छ । चुरे क्षेत्रमा रातिका बेला वर्षा हुँदा नदीमा बाढी आउँदा भुलको घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको स्थानीय राजुराम भुलले बताउनुभयो । गाउँ जोड्ने सडकसमेत बाढीले बगाइदिएको छ ।

उहाँका अनुसार बस्तीका ११ परिवार नदीको उच्च जोखिममा रहेका छन् । चारवटा घर नदीबाट चार मिटर टाढा मात्रै रहेका छन् । “जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्यमा लागेका छौँ”, उहाँले भन्नुभयो, “विस्थापनमा परेका परिवार आफन्तको शरणमा बसेका छन् ।” नदीको बाढीको बहाव घटे पनि जोखिम कायमै रहेको उहाँले बताउनुभयो ।

स्थानीय हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्र नदीले जग्गा कटान गर्दा उच्च जोखिमा परेका छन् ।

जनताको तटबन्ध कार्यालयबाट एक हजार पाँच सय बोरी ल्याएर नदीमा अस्थायी तटबन्ध निर्माणको कार्य सुुरु गर्ने भने पनि नदीको बहाव उच्च हुँदा अस्थायी तटबन्ध निर्माण अगाडि बढाउन नसकिएको स्थानीय बासिन्दाले बताउनुभयो ।

नदीको बहाव परिवर्तन गर्नका लागि नगरपालिकाले स्काभेटर पठाउन लागेको जानकारी दिए पनि अहिलेसम्म नपुगेको स्थानीय बासिन्दाको भनाइ छ । “सशस्त्र प्रहरीले समेत अस्थायी तटबन्ध निर्माणमा सहयोग गर्ने भनेका छन्”, स्थानीय रगीले भन्नुभयो, “नदीमा पानीको बहाव उच्च भएकाले सशस्त्र प्रहरीको टोली अहिले फिर्ता भएको छ ।” चुरे क्षेत्रमा पानी पर्दा बस्ती नै सार्नुपर्ने अवस्थामा पु-याएको उल्लेख गर्नुहुँदै उहाँले तराईमा ठूलो पानी परे बस्ती नै छाडेर भाग्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो ।

नदीको बाढीले हालसम्म पार्कीटोलका धुर्पु पार्की, दिलु ओड, गेडे पार्की, धनगिरी ओड लगायतको पाँच बिघा बढी जग्गा बगाएर बगरमा परिणत गरेको छ । धान, मास, तिललगायत रोपेको खेतबारी नदीले बगाउँदा स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । चुरे क्षेत्रमा वर्षा हुन थालेपछि सार्कीपार्की टोलका बासिन्दा रातिका बेला अनिदोमै रात बिताउने गरेका छन् ।

वर्षा हुन थालेपछि नदीमा बढी आउने डरले घर छाडेर बालबालिकासहित सुरक्षित हुनका लागि आफन्त कहाँ शरण माग्न जानुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउनुहुन्छ । बस्तीमा नदीको बाढी पस्ने भएकाले कटानीसँगै डुबानको समस्या रहेको छ । स्थानीय बासिन्दाले बस्ती सुरक्षित गर्नका लागि सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology