• Friday 24th of July 2026

एचआइभी सङ्क्रमितको सङ्ख्या ७५


  • गोकर्णेश्वर अनलाइन

इलाममा दुई बच्चासहित एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । गत वर्षभन्दा यस वर्ष १३ सङ्क्रमित थप भएको इलाम नगरपालिका–७ को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा लबकुश आश्रमकी अध्यक्ष रञ्जु शर्माले जानकारी दिनुभयो। जिल्लाको हकमा होटल व्यवसायमा काम गर्ने एक व्यक्तिका साथै लागुपदार्थ प्रयोगकर्ताहरुमा एचआइभी फैलिएको पाइएको छ ।
रोजगारीकै शिलशिलामा जिल्लामा एचआइभी सङ्क्रमित वृद्धि भएको उल्लेख गर्दै उहाँले कन्यामस्थित एक होटलमा एचआइभी सङ्क्रमित कार्यरत भएको पाएको र उनको उद्धारसमेत गरिएको बताइएको छ । सङ्क्रमितलाई एचआइभीको आशङ्का भएमा परीक्षण गराउन फूलगाछीस्थित उक्त आश्रममा सम्पर्क गर्न आग्रह गरिएको छ । विगत ३३ वर्षदेखि शर्मा आफै एचआइभीसँग बाँचिरहेकी अभियन्ता हुनुहुन्छ । उक्त वडाकार्यालयले एचआइभीसँग जीवन विताइरहेकाहरुलाई सहयोग गर्न र समुदायमा सचेतना फैल्याउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको हो ।

उक्त वडामा मात्र छ जनाले नियमित औषधि प्रयोग गरिरहेको जनाइएको छ । जिल्लाका एचआइभीसँग बाँचिरहेका मानिस इलाम बाहेक, झापा, धरान, काठमाडाँै तथा भारतका अन्य सहरबाट औषधि लिने भएकोले जिल्लाको सही तथ्याङ्क आउन नसक्ने अध्यक्ष शर्माको भनाइ थियो ।

नियमित औषधि प्रयोग गर्ने सङ्क्रमित इलाम, पाँचथर र ताप्लेजुङका छन् । इलामकै मात्र औषधि प्रयोगकर्ताको सङ्ख्या भने ३५ छ । वडाध्यक्ष नरेश श्रेष्ठले जिल्लामा एचआइभीको वर्तमान अवस्था बुझ्दै भावी दिनमा वडाले एचआइभी फैलिनबाट रोक्ने कार्यक्रम गर्न पूर्वतयारीको रुपमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

एचआइभीको औषधि निःशुल्क इलाम अस्पतालको एआरटीबाट उपलब्ध गराउन सहयोग गर्ने, एचआइभी भएकाको परिवारकै निःशुल्क स्वास्थ्य बीमा गरिदिने, उनीहरुलाई पुनःस्थापना कार्यक्रम तथा स्वरोजगार बनाउने, नियमित औषधि सेवन गर्नलाई उत्प्रेरणा गर्ने काम लवकुशले गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology