• Friday 24th of July 2026

बाँके हात्तीपाइले रोगको उच्च जोखिममा


  • गोकर्णेश्वर अनलाइन

बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताउनुभयो ।

उहाँले अभियानलाई प्रभावकारी बनाउन सबैको महत्वपूर्ण भूमिका हुने भएकाले यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो ।

रोग निवारणका लागि हात्तीपाइलेविरुद्धको औषधि सेवन एक मात्र उपाय भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति दुर्गा गौतमले जानकारी दिनुभयो । खानेले औषधि खाइरहने र नखानेले औषधि नखाइदिने गरेका कारण हात्तीपाइले रोगविरुद्धको अभियान प्रभावकारी हुननसकेको उहाँको भनाइ थियो । यो अभियान यही फागुन ११ देखि सुरु हुदैँछ ।

यस पटक जिल्लामा छ लाख १६ हजार छ सय ९५ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्रोत व्यक्ति गौतमले जानकारी दिनुभयो । उहाँले गर्भवती र सुत्केरी बाहेक सबैलाई औषधि सेवन गर्न आग्रहसमेत गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकामा एक लाख ७० हजार पाँच सय ९८ जना, कोहलपुर नगरपालिकामा एक लाख दुई हजार नौ सय चारजना, खजुरा गाउँपालिकामा ६५ हजार तीन सय सात जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ ।

त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार सात सय ३३, डुडुवा गाउँपालिकामा ४४ हजार एक सय ४४, नरैनापुर गाउँपालिकामा ४४ हजार आठ सय सात, बैजनाथ गाउँपालिकामा ७१ हजार आठ सय ६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार तीन सय ४१ जनालाई औषधि खुवाइने भएको छ ।

अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा ५० प्रतिशत, कोहलपुर र डुडुवामा ७८, खजुरामा ७६, राप्तीसोनारी र बैजनाथमा ७३, नरैनापुरमा ७४, जानकी गाउँपालिकामा ८० प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०६७÷६८ बाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको थियो । उक्त वर्ष जिल्लाको कभरेज ९१ प्रतिशत थियो । गत वर्ष बाँकेमा ६८ प्रतिशतले मात्रै औषधि सेवन गरेका थिए ।

बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले औषधि सेवन नै यसको न्यूनीकरण भएको स्वास्थ्य कार्यालयका प्रमुख पौडेलले बताउनुभयो । उहाँले पाँच वर्ष लगातार औषधि खुवाएपछि ‘प्रि टाक्स सर्भे’ गरेर अर्को वर्ष औषधि खुवाएर निवारण गर्ने रणनीति असफल भएकाले १३औँ पटक औषधि खुवाउन लागिएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology