• Saturday 25th of July 2026

राहतका थप कार्यक्रम ल्याउन सरकार प्रतिवद्ध छ : गृहमन्त्री खाँण


  • गोकर्णेश्वर अनलाइन

गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरा पीडितलाई थप राहत दिलाउन सरकार लागि परेको बताउनुभएको छ ।

धनकुटा, पाँचथर र इलामको बाढीपहिरा प्रभावित क्षेत्रको आज अवलोकनपछि उहाँले थप राहत प्रदान गर्नका लागि अनुगमन भइरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री खाँणले बाढीपहिराबाट मृत्यु भएका प्रतिपरिवारलाई रु दुई लाख, सोही घरका अन्य व्यक्तिको ज्यान गएको भए प्रतिव्यक्ति रु एक लाख राहत प्रदान गरिने निर्णय सरकारले गरिसकेको उल्लेख गर्दै यसमा के कति राहत थप गर्न सकिन्छ, त्यसका लागि प्रयास भइरहेको बताउनुभयो । घाइतेको निःशुल्क उपचार र बेपत्ता परिवारलाई समेत रु दुई लाख दिने सरकारले यसअघि नै घोषणा गरिसकेको उहाँले बताउनुभयो ।

गृहमन्त्री खाँणसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सडक विभागका प्रतिनिधिलगायतको टोलीले आज बढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको हो ।

गृहमन्त्री खाँणले बाढीपहिरा पीडितको उद्धार र राहतमा खट्ने सबैलाई धन्यवाद दिदैं अझै पनि केही व्यक्ति बेपत्ता रहेको हुँदा उनीहरुको उद्धार र राहतमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उहाँले विद्युत्, खानेपानी र सिँचाइका क्षेत्रमा बढी असर देखिएकाले त्यसतर्फ आफूहरुको ध्यान गएको बताउँदै किसानलाई राहतका लागिसमेत विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी गृहमन्त्री खाँणले आजै धनकुटाको चौबिसे गाउँपालिका, पाँचथरको तुम्बेवा गाउँपालिकासहित इलाम र सुनसरी जिल्लामा पुगेर प्रभावित क्षेत्रका बासिन्दाको अवस्था बुझ्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology