• Saturday 25th of July 2026

मुहान मर्मत नहुँदा खानेपानीको हाहाकार


  • गोकर्णेश्वर अनलाइन

बेमौसमी वर्षात्का कारण आएको बाढीपहिराले बगाएका यहाँका खानेपानीका मुहान मर्मत नगरिएकाले पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ । असोज अन्तिम साताको अबिरल वर्षाका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेनामा ५०० मिटर पाइप बगाएको र समयमै मर्मत गर्न नसकिएका कारण पानी उपलब्ध गराउन कठिन भएको राजपुर खानेपानी सरसफाइ उपभोक्त समितिले जनाएको छ ।

यहाँका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, दिपायल, राजपुर तथा सिलगढीमा खानेपानीको हाहाकार भएपछि दिपायल सिलगढी नगरपालिकाको दमकलले पानी वितरण गरेकामा अहिले बन्द गरेका कारण उपभोक्तालाई फोहर पानी खानुपर्ने बाध्यता रहेको स्थानीयवासी रामकुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “नजिकै रहेको सेती नदीमा खाली बालुवा र लेदोमात्रै बगिरहेको छ, धारामा पानी आउँदैन, नगरपालिकाले पनि पानी बाँड्न बन्द गरिदियो, अब निकै गाह्रो भयो ।”

लगातारको बेमौसमी वर्षासँगै बाढीपहिराका कारण जिल्ला सदरमुकाम सिलगढीमा पनि खानेपानीका मुहानका पाइप बगाउँदा त्यहाँ पनि खानेपानीको हाहाकार भएको छ । यहाँको बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि खानेपानीकोे समस्या भएको सिलगढी खानेपानी, सरसफाइ तथा उपभोक्ता समितिले जनाएको छ । पहिराले दिपायल सिलगढी नगरपालिका–९ को कलेनाखोला मुहानमा रहेको पाइप बगाएको थियो ।

बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जानसमेत समस्या भएको स्थानीयवासी तथा होटल व्यवसायी सिद्धराज जोशीले जानकारी दिनुभयो । बाढीपहिराका कारण बगाएको खानेपानीको पाइप मर्मतका लागि कर्मचारी खटिएका र कतिपय ठाउँमा पाइप र मुहान नै बगाएर समस्या भएका कारण मर्मत गर्न गाह्रो भइरहेको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानी सञ्चालनका लागि कर्मचारी साथीहरु खटिइरहेका छन्, बाढीले कतिपय ठाउँमा तहसनहस गरेकाले समस्या भएको हो, जति सकिन्छ चाँडै पानी सञ्चालन गर्छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology