• Saturday 25th of July 2026

मौलिक संस्कृतिको संरक्षण गर्नु साझा दायित्व हो : प्रधानमन्त्री


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकतालाई मजबुत तुल्याउने बताउनुभएको छ । अठारौँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले वसन्तपुर डबलीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उहाँले परम्परागत नेपाली मौलिक सम्पदा र संस्कृतिलाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको भौगोलिक, जैविक विविधता, प्राकृतिक र सांस्कृतिक सम्पदा तथा सामाजिक बनोट विश्वभरमै नमूनाका रूपमा रहिआएको भन्दै विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक समूहको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचानको गौरवमय संस्कृतिलाई जीवन्त राख्नु साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाल विभिन्न जातजाति, भाषाभाषि, धार्मिक एवं सांस्कृतिक समुदाय मिलेर बनेको राष्ट्र हो । विभिन्न धर्म, समुदायका नागरिकबीच धार्मिक सहिष्णुता अभिवृद्धि गर्न ज्यापू दिवसजस्ता पर्वहरूले महत्वपूर्ण भूमिका खेलेका छन् ।”

प्रधानमन्त्री देउवाले ज्यापू समुदायको संस्कृति र सभ्यताको संरक्षणका लागि आगामी दिनमा उपलब्ध गराउनुपर्ने आवश्यक सहयोगका लागि सरकार तयार रहेको विश्वास दिलाउनुभयो । उहाँले काठमाडौँ उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापू समुदाय लागिपरेको भन्दै यसले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सुरक्षित बनाएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको विभिन्न समुदायमध्ये ज्यापू समाज आफ्नै मौलिक संस्कृति, सम्पदा र पहिचान बनेको समाज भएको र समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको धारणा व्यक्त गर्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नेपालको पहिलचानलाई विश्वभर प्रवद्र्धन गर्न ज्यापू समुदायको मौलिक संस्कृतिको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले राजधानी काठमाडौँको कला, संस्कृति र सम्पदा सिङ्गो नेपाललाई विश्वबजारमा पहिचान गराउने महत्वपूर्ण माध्यम रहेको भन्दै नेवारी संस्कृतिकै माध्यमबाट विदेशी पर्यटकलाई आकर्षण गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले परम्परागत सम्पदा र संस्कृति तथा जात्रालाई जीवन्त तुल्याउन सरकारले विषेश ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो । कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहले नेपालको गौरव मौलिक संस्कृति र परम्परा विविधतायुक्त एकतालाई सबल बनाउन र राष्ट्रलाई एकतृत गर्न हरेक वर्ष ज्यापू दिवस मनाइँदै आएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विविधतायुक्त समाजलाई एकताबद्ध बनाउन नेवारी संस्कृतिको महतवपूर्ण भूमिका रहेको बताउनुभयो । सो अवसरमा मौलिक संस्कृतिको संरक्षण सम्बद्र्धनमा योगदान गर्ने भुलधामी देवकृष्ण महर्जन, प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, डा रमेशमान सिंह, सुरेन्द्रमान प्रजापति, दिलीपकुमार प्रधान, मदनसेन बज्राचार्य, राजनलाल जोशी, नवीनकुमार जोशी, कुमार रञ्जीत, अनिल महर्जन, रमेश महर्जन, तेजनारायण महर्जन, अनिता महर्जन, नेन्सि महर्जन, नितु डङ्गोल र कृषा महर्जनलाई नगद रु १० हजारसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology