• Saturday 25th of July 2026

रघुगङ्गाका सबै वडा बालश्रममुक्त घोषणा


  • गोकर्णेश्वर अनलाइन

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ ।

सोमबार आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लबलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले बालबालिकालाई कानुन विपरीतको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर बालश्रममुक्त वडा घोषणा गरिएको हो ।

योसँगै रघुगङ्गा गाउँपालिकाका आठ वटै वडालाई बालश्रममुक्त वडा घोषणा गरिसकिएको छ । गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धी कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार, गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान सञ्चालन गरेको थियो । गाउँपालिकाका आठ वटै वडालाई बालश्रममुक्त घोषणा भएसँगै गाउँपालिका बालश्रममुक्त बनेको र निकट भविष्यमा औपचारिक कार्यक्रम गरी पालिकालाई बालश्रममुक्त घोषणा गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

रघुगङ्गाको ११औँ गाउँसभालेसमेत कार्यपालिका बैठकको सिफारिस बमोजिम गाउँपालिकालाई बालश्रममुक्त पालिका घोषणा गर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाभित्रका एक हजार १०० घरधुरी पहिचान गरी सर्वेक्षण गर्दा कुनैपनि घरमा बालश्रममा नरहेको तर १५० जना बालबालिका बालश्रमको जोखिममा रहेको पाइएको थियो ।

अभियानका क्रममा जोखिममा रहेका बालबालिकालाई झोला, पोशाक र शैक्षिक सामग्री सहयोग गर्ने गरिएको र उनीहरुका अभिभावकलाई दिगो रोजगारीतर्फ प्रेरित गर्न सिपमूलक तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

बालश्रममा कोही पनि बालबालिका नहरेको आधार तयार भएपछि वडासमितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभामार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधान अनुसार सबै वडालाई बालश्रममुक्त घोषणा गरिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख सावित्रा सुवेदीले जानकारी दिनुभयो ।

बालश्रममुक्त वडा घोषणा समारोहमा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले भगवतीसँगै गाउँपालिकाका सबै वडा बालश्रममुक्त घोषणा भएकाले आगामी दिनमा घोषणाको व्यवहारिक कार्यान्वयनमा समेत लाग्न सबै सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

वडा अध्यक्ष रिमबहादुर कटुवालले बालश्रम सामाजिक अपराध भएकाले बालबालिकालाई कानुन विपरीतको श्रममा लगाउन नहुने बताउँदै घोषणाको व्यवहारिक कार्यान्वयका लागि वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने बताउनुभयो ।

समारोहमा बालश्रमको जोखिममा रहेका २० बालबालिकालाई गाउँपालिकाबाट झोला, पोशाक, शैक्षिक सामग्री वितरण गरिएको थियो भने सामाजिक विकास कार्यालयबाट थप ज्यामिति बक्स, क्यालकुलेटर, घडीलगायतका सामग्री वितरण गरिएको थियो । गाउँपालिकाले बालश्रम सामाजिक अपराध भएको र बालबालिकालाई कडा परिश्रम गर्नुपर्ने र कानुनले बन्देज लगाएको काममा लगाउन नहुने सन्देशसहितको चेतनामूलक ब्रोसर र होडिङ बोर्डमार्फत समेत सचेतना जगाउने काम गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology