• Saturday 25th of July 2026

चैतभित्रै काठमाडौँमा पानी पु-याउने गरी काम गर्न खानेपानीमन्त्री चौधरीको निर्देशन


  • गोकर्णेश्वर अनलाइन

खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभएको छ ।

बुधबार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्म जसरी पनि पानी काठमाडौँ पु-याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिनुभएको हो ।

मन्त्री चौधरीसँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायत सहभागी हुनुहुन्थ्यो । निरीक्षणका क्रममा मन्त्री चौधरीले केही दिनअघि ठेकेदारले केही समय काम रोकेको भन्दै उहाँले भुक्तानी समयमै गर्न सरकार तयार रहेको तर कुनै पनि बहानामा काम ढिलो हुन नहुने बताउनुभयो ।

मन्त्री चौधरीले डलरमा रकम भुक्तानी गर्न केही समय लागेको तर नेपाली रुपैयाँ सरकारले ठेकेदारलाई सम्झौताअनुसार भुक्तानी गरिरहेको पनि सो अवसरमा स्पष्ट गर्नुभयो । स्थानीय प्रभावित, बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक रहेको उहाँले बताउनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, “सबैका उचित माग पूरा हुन्छन्, यसतर्फ सरकार सजग छ, तर काम बन्द गर्ने काम कसैले पनि गर्नु हुँदैन, कुनै पनि हालतमा सरकारले तोकेको समय यही महिनाभित्रै काठमाडौँ पानी पु-याउनुपर्छ ।”

उहाँले ठेकेदार कम्पनीले काम सुरु गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले त्यहीअनुसार काम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हाल जारी रहेको कामको गति चित्तबुझ्दो रहेको पनि बताउनुभयो ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथान पोर्टल अडिटमा सोचेभन्दा बढी गेग्रान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लागेको बताउनुभयो ।

उहाँले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी काठमाडौँ लैजाने गरी काम भइरहेको जानकारी दिनुभयो । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको जानकारी उहाँले दिनुभयो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन रु पाँच लाखले नपुग्ने भन्दै रकम थप गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले सामाजिक उत्थान कार्यक्रमको रकम सम्बन्धित पालिकामा पठाउन पनि आग्रह गर्नुभयो ।

काठमाडौँ आइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको बर्सातको बाढीले क्षति पु¥याएको थियो । त्यसपछि सो आयोजना हालसम्म नै ठप्प रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology