• Saturday 25th of July 2026

बालक अपहरण गरी मार्ने ७ जना पक्राउ


  • गोकर्णेश्वर अनलाइन

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न सात जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न रहेका सात जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभिन पोख्रेलले जानकारी दिनुभयो ।

आफ्नै घरबाट हराएका बालकको खोजी गर्ने क्रममा छिमेकीको शौचालयको सेफ्टी टङ्याकीभित्र प्लाष्टिकको बोरामा शव फेला परेपछि अनुसन्धान गरेको सर्लाही प्रहरीले फेसबुक म्यासेन्जरबाट आकाशका आफुन्तसँग रु १५ लाख फिरौती माग गरेको खुल्न आएकोले सो कार्यमा संग्लग्न रहेका सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानबाट ती सातैजनाको संलग्नता रहेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुले आकाशलाई छिमेकी जगदीश बडहीको घरको माथिल्लो तल्लामा लगी कर्तव्य गरी मारी शव प्लाष्टिकको बोराभित्र राखी बडहीको घरको शौचालयको सेफ्टी टङ्याकीभित्र हाली लुकाएको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

मलङ्गवा नगरपालिका–१२ गम्हरियाका ६० वर्षीय जगदीश बडही, २१ वर्षीय कृष्ण ठाकुर, कृष्ण ठाकुरकीे श्रीमती अन्दाजी १८ वर्षीय निरुता शर्मा, २५ वर्षीया सङ्गीता बडही, सुनिल ठाकुर, ५० वर्षीय नेवा ठाकुर र मलङ्गवा नगरपालिका–११ का ३१ वर्षीय राकेश ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

शव परीक्षणपश्चात मृतक आकाशको शव उनका आफन्तले बुझेका छन् । पक्राउ परेका सातै जनालाई अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology