• Saturday 25th of July 2026

बाह्रसय लालपुर्जाविहीन तर छानबिन टोली सदरमुकाम फिर्ता


  • गोकर्णेश्वर अनलाइन

काभ्रेपलाञ्चोक, १२ असार (रासस): छयालिस वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित दुई वडामा करिब एक हजार २०० परिवारले ओगटेको जमिनबारे छानबिन गर्न गएको दुई नापी टोली फिर्ता भएका छन् । गाउँपालिकाको ७ र ८ नं वडामा जग्गा विवाद छानबिन गरी लालपुर्जा वितरण गर्ने उद्देश्यले गतवर्ष चैतमा नापी कार्यालयले दुई टोली फिल्डमा पठाइएको थियो ।

दुई वडामा कोरोना सङ्क्रमणको उच्च जोखिमलगायत विभिन्न कारण दुई वर्षदेखि रोकिएको जग्गा छानबिनको कामलाई निरन्तरता दिन दुई टोली खटिएका थिए । टोली फिल्ड पठाउनका लागि भुम्लु गाउँपालिका, सम्बन्धित वडा तथा जिल्लास्थित मालपोत र नापी कार्यालयबीच पटक–पटकको छलफलपछि सहमति भएको थियो ।

“हाल पनि रसिदका आधारमा जग्गा किनबेच भइरहने हुँदा छानबिनका बेला एकको नाममा र पुर्जा बन्ने बेला बिक्री भई अर्काको नाममा गैसक्ने समस्याले झन् कठिन भइरहेको छ”, फिल्डमा खट्नभएका नापी अधिकृत लवप्रसाद कुईंकेलले भन्नुभयो,“विविध प्राविधिक समस्यालगायत हाल भइरहेको वर्षाका कारणले फिल्ड गएका टोली तीन महिनामै जिल्ला फर्किएका हुन् ।” उहाँका अनुसार रसिदकै आधारमा जग्गा किनबेच भएको लगत जिल्ला मालपोत कार्यालयबाट उपलब्ध हुनसकेको छैन ।
आन्तरिक विवादलगायत रोकिएको कामलाई निरन्तरता दिन तीन महिनाअघि कर्मचारीको दुई टोली फिल्डमा खटाइएको नापी कार्यालयप्रमुख राम विनयकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार यस पटक पठाइएका टोलीले आन्तरिक विवादसँगै लालपुर्जा वितरणसम्बन्धी गहिरो अध्ययन गर्ने काम विविध कारणले गर्न नसकी फर्किएको हो ।

दुवै वडामा विसं २०७६ पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो । त्यसलगत्तै नेपालमा पनि कोरोना महामारी फैलिएपछि थालिएको काम रोकिएको थियो । कोरोना जोखिम घटेपछि २०७७ मङ्सिरबाट पुनः थालेपछि केही काम हुँदैथियो पुनः कोरोनाको दास्रो लहरले छानबिनको कामलाई जहाँको तही थाँती राखिदियो ।
गत पुसदेखि काम पुनः थालिने गरी टोली पठाइने तयारी गरेपनि कोरोना तेस्रो लहरका कारण नसकिएको सिंहले बताउनुभयो । त्यसयता छानबिनका लागि टोली पठाउन मालपोत कार्यालय र स्थानीय तहसँग छलफल तथा समन्वय हुँदै आएको थियो । करिब दुई वर्षदेखि स्थानीयस्तरका नापी र मालपोतका ती कार्यालय हाल कर्मचारीविहीन अवस्थामा छन् ।

फिल्डमा खटेको नापी कार्यालयको टोली पटक–पटक फिल्ड जाँदै फर्कंदै गरेपछि ४६ वर्षदेखि लालपुर्जाको पर्खाइँमा बसेका करिब एक हजार २०० परिवारमा पुनःनिराशा छाएको छ । साथै लालपुर्जा वितरणमा थप अन्योल थपिँदै आएको छ । विसं २०३२ मा जग्गा नापी गर्दाका बखत साविकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हँुदा तत्कालीन नापी टोली फर्किएको थियो ।

तत्कालीन नक्शाङ्कनको अवस्थामा सीमाविवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार २०० लालपूर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि निवेदनसमेत दर्ता गरेका थिए । उक्त गाउँपालिकाको दुई वडामा स्थानीयवासीको जग्गाधनी र जग्गाको छानबिन गरी लालपुर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारिस गर्ने उद्देश्यले दुवै वडामा कार्यालय राखिएको थियो ।

नापीप्रमुख सिंहले तीन लहरको कोरोना सङ्क्रमणका कारण करिब डेढवर्ष भुम्लु गाउँपालिकाको जमिनको छानबिनको काम हुन नसकेको बताउनुभयो । उहाँका अनुसार करिब ३०० जनाको लालपूर्जा तयार भइसकेको छ । “छानबिन गरी नाममा पुर्जा दिन केही व्यक्तिको मृत्यु भइसकेकाले कुन आधारमा नामसारी गर्ने भन्नेबारे थप समस्या सिर्जना भएकोले त्यसबारे गम्भीररुपमा छलफल र कानुनी आधारमा सहमति गर्नुपर्ने देखिएको छ” उहाँले भन्नुभयो ।
नापी कार्यालयका अनुसार ७ नम्बर वडास्थित कार्यालयमा ९३२ र ८ नम्बरमा ३१७ निवेदन दर्ता भएको छ । उक्त कार्यालयले निवेदन बुझ्ने काम भएको र पटक–पटक टोली फिल्डमा खटाइए पनि त्यहाँको विवाद बुझेर फर्कनेबोहक थप प्रक्रिया अघि बढेको छैन । नापीले मालपोतबाट जमिनको सुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा श्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको नाममा जग्गा दर्तागरी लालपुर्जा दिन सकिने जनाउँदै आएको छ ।

हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गामात्रै दर्ता गर्न सकिने तथा अन्यको हकमा कानुनी आधारमा निक्र्यौल गरी प्रक्रिया थाल्नुपर्ने देखिएको नापी अधिकृत कुईंकेलले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियस्तरमा नीतिगत निर्णय भएमात्रै भुम्लुको लालपूर्जाविहीन समस्या समाधान गर्न सकिएला, अन्यथा सम्भावना देखिएको छैन ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology