• Saturday 25th of July 2026

मानवीय क्षति कम गर्न हात्ती नियन्त्रणको उपाय खोजिँदै


  • गोकर्णेश्वर अनलाइन

मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले माग गरेका छन् । जङ्गली हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणको माग गरेका हुन् ।

तीन वर्षदेखि हात्तीले नगरपालिका क्षेत्रमा मानवीय क्षति पु¥याउँदै आएको छ । “स्थानीय बासिन्दाको घरमै पुगेर हात्तीले मान्छे मार्न थालेको छ”, नगरपालिकाको वडा नं ७ का वडा सदस्य केशवसिंह ठगुन्नाले भन्नुभयो, “हिजो साँझमात्रै गाउँकै १८ वर्षीया बालिका मीना जोशीको हात्तीको आक्रमणबाट ज्यान गएको छ, गाउँमै हात्ती आएपछि भाग्ने क्रममा बालिकामाथि हात्तीले आक्रमण गरेको हो, बालिकाको घटनास्थलमै मृत्यु भयो ।”

हात्ती अहिले खोलापारिको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमै रहेकाले जुनसुकै बेला गाउँमा छिर्नसक्ने उहाँले बताउनुभयो । “हात्तीले लगातार तीन वर्षदेखि मानवीय क्षति गर्दै आए पनि नियन्त्रणको प्रयास हुनसकेको छैन”, उहाँले भन्नुभयो, “निकुञ्जसँग जोडिएको यस बस्तीमा हात्तीलाई बस्तीभित्र छिर्नबाट रोक्नका लागि विद्युतीय तारबारको व्यवस्था तत्काल गरिनुपर्छ । हात्ती नियन्त्रण नगरिए अर्को दुर्घटना जुनसुकै बेला पनि हुनसक्छ ।”

वर्षात्का बेला भारतीय दुधुवा नेशनल पार्कमा वर्षाको पानी भरिन सुरु भएपछि जङ्गली हात्तीको बथान चुरे क्षेत्रमा प्रत्येक वर्ष आउने गरेको छ । निकुञ्ज आसपासका क्षेत्रका बासिन्दाको खेतबारीमा छिरेर धान, मकै, केरालगायतका बालीमा क्षति पु-याउने गर्दछ । “हात्तीको बथानले प्रतिवर्ष बालीनालीमा नोक्सानी पु-याउँदा परिवारका लागि बाह्य क्षेत्राट अन्न खरिद गर्नुपर्ने अवस्था छ”, स्थानीय जयबहादुर धामीले भन्नुभयो, हात्तीका कारण निकै नोक्सानी व्यहोर्न बाध्य छौँ, खेतबारीमा क्षति पु-याएको सहेर बसे पनि मानवीय क्षति गर्न थालेपछि त्रसित अवस्थामा बस्नुपर्ने भएको छ । हात्तीबाट परिवार जोगाउन मुस्किल भइसक्यो ।”

नगरप्रमुख रणबहादुर महराले निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत, सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालाहरूसँग छलफल गरेर हात्ती नियन्त्रणका लागि भरपर्दो प्रयास गरिने बताउनुभयो ।

“तत्काल विद्युतीय तारबार गर्नका लागि नगरपालिकाको बजेटले नभ्याउने भएकाले प्रदेश, सङ्घीय सरकार र अन्य दातृ निकायसँग सहयोग माग्छौँ”, उहाँले भन्नुभयो, “हात्ती नियन्त्रण गर्नका लागि नगरपालिकाले कसरी काम गर्न सक्छ, त्यसबारेसमेत विचार–विमर्श गरी तत्काल कार्य थाल्छौँ ।”

जङ्गली हात्तीले गत वर्ष वडा नं १२ मा र त्यसको अघिल्लो वर्ष वडा नं १ मा समेत मानवीय क्षति गरेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मुख्य संरक्षण अधिकृत भएर कार्य गर्नुभएका हाल शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा कार्यरत लक्ष्मण पौड्यालले कञ्चनपुर जङ्गली हात्तीको आवतजावत हुने क्षेत्रका रूपमा रहेको बताउनुभयो ।

“बेदकोटको हात्तीथला भन्ने स्थान हात्ती आउने भएर नै परापूर्वकालदेखि नै राखिएको हो”, उहाँले भन्नुभयो, “हात्तीले आवतजावत हुने क्षेत्रमा बस्ती बसेपछि यसले अवरोध भएको छ, आरक्ष विस्तार गरिएको क्षेत्रबाट अझै पनि बसोबास यथावत रहेको छ, यसले हात्ती आवतजावत गर्ने कार्यमा असर गर्छ ।”

“महाकाली सिँचाइको तेस्रो चरणको नहर निर्माण हुँदा मैले निकुञ्ज क्षेत्रभित्र अण्डरग्राउण्ड गरेर लैजान भनेको हुँ, त्यसबेला कसैले सुनेन । निकुञ्जभित्र भएर जाने नहरका बीच–बीचमा अण्डरपास त बनाइएको छ, त्यसले हात्तीका लागि काम गर्दैन, नगर उत्तरतर्फको चुरे क्षेत्रमा जान हात्तीले दायाँबायाँ भएर जानै प-यो, हात्ती बाटो खोज्दै बस्तीसम्म समेत आइपुग्छ”, उहाँले भन्नुभयो ।

निकुञ्ज आसपास बस्ने अधिकांश परिवार न्यून आयस्रोत भएकाले उनीहरूका घर कच्ची छन् भने शौच गर्न घरबाहिर जानु पर्दछ । त्यसैले जङ्गली जनावरको आक्रमणमा स्थानीय पर्ने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology