• Friday 24th of July 2026

स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता


  • गोकर्णेश्वर अनलाइन

बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच डब्ल्युएचओको कार्यालयमा भेटवार्ता भएको छ ।

भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको लागि धन्यवाद दिनुभयो । विशेष गरी पोलियोलगायत खोप, विभिन्न प्रकोपको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले महानिर्देशक डा टेड्रोसप्रति आभार प्रकट गर्नुभयो ।

भेटमा गोर्खा भूकम्प, हैजाको प्रकोप, कोभिडविरुद्धको खोप नेपालका लागि उपलब्ध गराउन विश्व स्वास्थ्य सङ्गठनले खेलेको भूमिकाको लागिसमेत मन्त्री गिरीले उहाँप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

मन्त्री गिरीले नसर्ने रोग, मानसिक स्वास्थ्य तथा जैविक औषधिको प्रतिरक्षा प्रणालीलगायत हाल भइरहेका गतिविधि विस्तार र आपसी सहकार्य समन्वयलगायतका विषयमा आफ्नो धारणा सो अवसरमा राख्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले समन्वय सेन्टर निर्माण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वन गर्न मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका विषयमा पनि भेटमा छलफल भएको मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology