• Monday 5th of October 2026

महिला हिंसा रोक्न सामूहिक प्रयासको खाँचो : मन्त्री थापा


  • गोकर्णेश्वर अनलाइन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा रोक्न एकल प्रयासले सम्भव नहुने बताउनुभएको छ । मुलुकको पुनःसंरचनासँगै सङ्घ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार फरकफरक रहेकाले तीनै तहको सरकारसँगै स्थानीय समुदायको समेत सहभागितामा हिंसा न्यूनीकरण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरीय प्रहरी परिसर, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल र संरक्षक समूह नेपालद्वारा आज यहाँ आयोजित ‘लैङ्गिक हिंसा नियन्त्रणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री थापाले मुलुकमा हिंसाका रुप कस्तो छ र कुन ठाउँमा कस्ता खालका घटना भइरहेका छन् भन्ने विषयमा सरकारले अध्ययन गर्न आवश्यक तयारी गरेकोसमेत जानकारी दिनुभयो । “ठोस योजना बनाएर अघि बढ्नसके हिंसाविरुद्ध महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ, फरकफरक क्षेत्राधिकार भएकाले तीनै तहको सरकारको उत्तिकै भूमिका हुन्छ, कानूनभन्दा पनि ठूलो कुरा भनेको सोच र चिन्तन हो, आफैँ रुपान्तरण हुनुु आवश्यक छ”, उहाँले भन्नुभयो ।

यो वर्ष सरकारले महिला हिंसाविरुद्धको अभियान शुरु गरेको जानकारी दिँदै मन्त्री थापाले विसं २०६३ जेठ १६ गते संसद्द्वारा महिला अधिकारको विषयमा महत्वपूर्ण प्रस्ताव पारित गरेकोे सम्झनामा यो वर्षदेखि दिवस मनाउने तयारी गरिएको उल्लेख गर्नुभयो । पुनःस्थापित संसद्ले तत्कालीन जेठ ४ गते विभिन्न प्रस्ताव ल्याएकामा महिला अधिकारको विषयलाई सम्बोधन गरिएको र जेठ १२ गते अर्काे प्रस्ताव पेश भएको र त्यसमा ३३ प्रतिशत महिला सहभागिता हुनपर्ने, लैङ्गिक हिंसा अन्त्य हुनुपर्ने, विभेद खारेज गर्नुपर्ने र आमाको नामबाट नागरिकता पाउनुपर्ने विषय समावेश थियो । उक्त प्रस्ताव जेठ १६ गते पारित भएको जानकारी दिँदै उहाँले त्यही उपलब्धि भएको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको बताउनुभयो । मन्त्री थापाले हिंसा नियन्त्रणका लागि यही कात्तिक १७ देखि सातै प्रदेशमा छलफल कार्यक्रम शुरु गर्न लागिएको र मङ्सिर ९ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षेत्रीले यौन शिक्षा घरबाटै सिकाउन सकियो भने हिंसा न्यूनीकरणमा महत्वपूर्ण उपलब्धि हासिल हुने उल्लेख गर्नुभयो ।

उहाँले हिंसाका घटना झण्डै ३१ प्रतिशतले वृद्धि भइरहेको जानकारी दिँदै यस्ता आपराधिक घटना न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु गरिएको बताउनुभयो । उक्त कार्यक्रम शुरु भएको एक वर्षमा झण्डै छ लाखलाई प्रशिक्षण दिइसकिएको प्रमुख प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology