• Tuesday 8th of September 2026

सुदूरपश्चिममा चिकित्सक अभाव


  • गोकर्णेश्वर अनलाइन

कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा १०४ चिकित्सकको अभाव छ । यहाँका अधिकांश चिकित्सकले समायोजनमा सङ्घ रोजेपछि स्वास्थ्य संस्थामा चिकित्सकको अभाव देखिएको हो । डोटी जिल्ला अस्पतालमा लामो समयदेखि मेडिकलसुपरिटेन्डेन्ट पद रिक्त छ । यहाँ तीन स्वास्थ्य अधिकृतको दरबन्दी रहे पनि हाल दुई जना मात्र कार्यरत छन् । नवौँ र दशौँ तहका चिकित्सकको दरबन्दी खाली रहेको जिल्ला अस्पतालले जनाएको छ । पच्चीस श्ययाको अस्पतालमा दुई चिकित्सक, एक स्वास्थ्य सहायक, दुई अहेव, एक स्टाफ नर्स तथा दुई अनमीको दरबन्दी रिक्त छ । यस्तै बोगटान फुडसील गाउँपालिकास्थित केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा डेढ वर्षदेखि चिकित्सक अभाव छ । यहाँ स्वास्थ्य सहायकले उपचार भइरहेको स्थानीयवासी हेम बलमे बताउनुभयो ।

उहाँले भन्नुभयो, “चिकित्सकको माग गरेको गर्यों छौँ, सुनवाई भएको छैन ।” जोरायल प्राथमिक स्वास्थ्य केन्द्रमा पनि लामो समयदेखि चिकित्सकको अभाव छ । यहाँ स्वास्थ्य सहायकका भरमा बिरामीको उपचार भइरहेको छ । डडेल्धुरा अस्पताल सङ्घ सरकारको मातहतमा छ भने सेती र महाकाली तथा जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा छन् । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकी स्थानीय तह मातहत गएपछि हरेक स्वास्थ्य संस्थामा सरकारी दरबन्दीका चिकित्सकदेखि अनमी, अहेबसम्मका स्वास्थ्यकर्मीको अभाव रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत सेती प्राविधिक अस्पताल (साविकको सेती अञ्चल अस्पताल) कैलाली, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, तथा पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा र अछामका जिल्ला अस्पताल र कैलालीको टीकापुर अस्पताल छन् । डडेलधुरा अस्पतालमा १९ चिकित्सकको दरबन्दी रिक्त छ भने स्थानीय सरकार मातहत रहेका डडेलधुराको जोगबुडा अस्पतालमा पाँच चिकित्सकको दरबन्दी रहेकामा सबै दरबन्दी रिक्त छ ।

डडेल्धुरा अस्पतालमा सरकारले १०९ जनाको दरबन्दी रहने गरी स्वीकृति दिएको छ । स्वीकृत दरबन्दीमध्ये ३७ जनाको मात्रै पदपूर्ति भएको छ । पछिल्लो समय यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढे पनि चिकित्सक नहुँदा सबैले सेवा पाउन नसकेको दिपायलका स्थानीयवासी दिव्यराज पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पातलमा बिरामीको चाप दिनहुँ बढ्न थालेको छ, चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् ।” यस्तै अछाम जिल्ला अस्पतालमा दुई चिकित्सकको स्थायी दरबन्दी रहे पनि लामो समयदेखि दुई करारका चिकित्सकले सेवा दिइरहेका छन् । चौरपाटी गाउँपालिकाको चौरमाडौँ प्राथमिक स्वास्थ केन्द्र र कमलबजार नगरपालिकाको प्राथमिक स्वास्थ केन्द्रमा दुई चिकित्सकको दरबन्दी रिक्त छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology