नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरामा भव्य स्वागत गरिएको छ । नेपाली सेनाको विशेष हेलिकप्टरबाट यहाँ आउनुभएका उहाँलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसहित प्रदेशका कार्यवाहक मुख्यमन्त्री, सभामुख, मन्त्रिगण, प्रमुख प्रतिपक्षी दलका नेता एवं उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभयो । राष्ट्रपतिको स्वागतार्थ विमानस्थलको अतिविशिष्ट कक्षबाट उहाँ सवार हेलिकप्टरसम्म नै रातो कार्पेट बिच्छ्याइएको थियो । हेलिकप्टरबाट झर्नासाथ क्रमशः नेपाली परम्परागत पोशाकमा सजिएका पञ्चकन्या, प्रदेश प्रमुख, कावा मुख्यमन्त्रीलगायत उच्चपदस्थ अधिकारीले गर्नुभएको स्वागतमा राष्ट्रपति हमिद प्रफुल्लित देखिनुहुन्थ्यो । विमानस्थलमा उहाँको स्वागतार्थ पञ्चैबाजा पनि बजाइएको थियो । विमानस्थलको अतिविशिष्ट कक्षमा केही समय रहनुभएका राष्ट्रपति हमिद सवारी साधनबाट मुस्ताङचोक, राष्ट्रबैंक चोक हुँदै पोखराको प्रमुख पर्यटकीय केन्द्र मानिएको फेवाताल पुग्नुभएको थियो ।
उक्त मार्गमा सहभागी टोल विकास संस्था, आमा समूह, नागरिक समाजलगायत संस्थाका प्रतिनिधिले उहाँको भव्य स्वागत गरेका थिए । यस्ता अतिविशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउनु आफूहरूका लागि ठूलो अवसर भएको पर्यटन व्यवसायी एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।“राष्ट्रपति हमिदको भ्रमणले पुनः एक पटक पोखराको पर्यटनले विश्वव्यापीरुपमा चर्चा पाएको छ”, उहाँले भन्नुभयो, “अतिविशिष्ट व्यक्तिको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा निकै टेवा पुग्नेछ ।” पोखराको प्राकृतिक सुन्दरता र यहाँबाट देखिने रमणीय हिमाली दृश्यले जो कोहीलाई पनि लोभ्याउने गरेको बताउँदै उहाँले मौसमका कारण आज भने आशातित हिमाल खुल्न नसकेको बताउनुभयो । फेवाताल किनारमा पुग्नुभएका राष्ट्रपति हमिदले धर्मपत्नीका साथ झण्डै आधा घण्टा जलविहार गर्नुभएको थियो । जलविहारका क्रममा उहाँले ठाउँठाउँमा सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गर्नुभएको थियो । जलविहारपछि राष्ट्रपति हमिद फेवाताल किनारास्थित फिष्टेल लजमा दिवा भोज गर्नाका साथै केही समय आराम गरी दृश्यावलोकनका लागि रुपाकोट रिसोर्ट प्रस्थान गर्नुभयो । रुपाकोटको दृश्यावलोकनपछि उहाँ सीधै काठमाडौँ फर्कने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।
