• Saturday 25th of July 2026

१८ महिलाले पाए सेनेटरी प्याड बनाउने काम


  • गोकर्णेश्वर अनलाइन

सेनेटरी प्याड बनाउने काममा यहाँका १८ जना महिलाले रोजगारी पाएका छन् । रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोग, आई।इडी नेपालको प्राविधिक सहयोग र धुलिखेल उद्योग वाणिज्य सङ्घले दुई महिनादेखि सेनेटरी प्याड सिलाउने काम सञ्चालन भइरहेको छ । प्याड सिलाइमा काम गर्नेहरु बिहान १० बजे आउने र दिउँसो साढे ३ बजे फर्कने गरी काममा लगाएको टोलीनेता सरिता मल्लले बताउनुभयो । उहाँको काम उत्पादन भएको प्याड व्यवस्थित बनाएर त्यससँगै साबुन र अन्य जानकारीमूलक सामग्री राखेर झोलामा पोको पार प्याक गर्ने हो । “महिनाको ९ हजार दिने गरेर १८ जना महिलालाई रोजगारी दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “तत्कालका लागि ६ महिनाको योजना बनाएर काम शुरु गरिएको छ ।” त्यसरी काम गर्न थालेको दुई महिना भयो । काममा धुलिखेल, बतासे, बनेपा, खावा लगायतका महिलाहरु सो काममा लागिरहनुभएको छ । दिनमा ६०÷७० प्याकेट प्याड उत्पादन हुने मल्लले बताउनुभयो । शुरुमा एक हप्ताको तालीम दिएर सिकेकामध्ये १८ जनालाई प्याड उत्पादनमा अवसर प्रदान गरेको रोटरी क्लब अफ धुलिखेलका पूर्वअध्यक्ष रञ्जीव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्ममा दुई हजार पोका उत्पादन गरिसकेकोमध्ये केही मात्रमा विद्यालयका बालिकालाई वितरण गरिसकेका छौँ ।”

उत्पादन गरेको प्याडसँगै प्रयोग गर्ने जानकारीमूलक सामग्रीसहितको पोको बनाएर विद्यार्थीलाई वितरण गर्ने गरेको उहाँको भनाइ छ । दुईवटा सेनेटरी प्याडसँगै त्यसको प्रयोग गर्ने तरिका, साबुन, प्रजनन स्वाथ्यसम्बन्धी जानकारी र अन्य सरसफाइका बारेमा समेत जानकारीमूलक सामग्री रहेको पोको तयारी पारी विद्यालयका विद्यार्थीलाई वितरण गर्दै आएको श्रेष्ठले बताउनुभयो । त्यसरी उत्पादन गरेको प्याड अहिलेसम्ममा धनुषा जिल्लाको ६ र सिरहा जिल्लाको १२ गरी १८ विद्यालयका विद्यार्थीलाई वितरण गरिसकेको जनाएको छ । उहाँका अनुसार नेपालमा उत्पादन हुँदै आएको प्याडमा पनि उच्च गुणस्तरको कपडा प्रयोग गरी बनाएको सो प्याड बातावरणमैत्री रहेको छ । त्यसरी बनाएको प्याड प्रयोग गरेको दुईदेखि तीन वर्षसम्म पुनः प्रयोग गर्न सकिने जनाएको छ । अहिलेसम्ममा दुई हजार वटा प्याड उत्पादन गरिसकेको र अब तीनदेखि पाँच हजार प्याड उत्पादन गर्ने र विभिन्न जिल्लाका ५० वटा विद्यालयमा वितरण गर्ने योजना रहेको श्रेष्ठले बताउनुभयो । सो परिमाण सम्पन्न भएपछि सिलाइमा प्रयोग भएको २५ वटा मेशिन, ६ वटा इन्टर लग र पाँच वटा कपडा काट्ने मेशिन व्यावसायिक तालीम केन्द्र स्थापना गरी उद्यमी महिलालाई वितरण गर्ने योजनामा रहेको क्लबका पूर्वअध्यक्ष श्रेष्ठले बताउनुभयो ।

धुलिखेल उद्योग वाणिज्य सङ्घका अध्यक्ष मञ्जुकुमार कोजुले क्लबले आयोजना गरेको परियोजनामा निःशुल्क रुपमा हल उपलब्ध गराएको बताउनुभयो । अध्यक्ष कोजुले भन्नुभयो, “परियोजना सकेपछि पनि विद्यालय, सङ्घसंस्था र कुनै अस्पतालले माग गरेको खण्डमा प्याड निर्माण गरी वितरण गर्ने किसिमले कामलाई निरन्तरता दिन उद्योग वाणिज्य सङ्घले योजना बनाइरहेको छ ।” एकातिर आवश्यकताको विषय, अर्कोतिर महिलाले पाएको रोजगारीलाई निरन्तरता दिनका लागि उद्योग वाणिज्य सङ्घ लागिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology