• Saturday 25th of July 2026

गाँजाखेती नष्ट


  • गोकर्णेश्वर अनलाइन

सर्लाहीको हरिवन नगरपालिकामा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ । हरिवन नगरपालिका–१ बेल डाँडा गाउँमा अढाइ बिघा बढी जग्गामा गरिएको गाँजाखेती प्रहरीले आज बिहान नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलको नेतृत्वको टोलीले पूर्वपश्चिम लोकमार्गबाट ११ किलोमिटर उत्तरी क्षेत्रमा सिन्धुलीको सीमासँग जोडिएको सो क्षेत्रमा लगाइएको १० हजारभन्दा बढी गाँजाको बोट फँडानी गरी आगो लगाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । एकाबिहानै गाँजा खेती नष्ट गर्न गएको प्रहरी टोलीलाई देखेपछि स्थानीयवासी घर छोडेर भागेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । सो क्षेत्रमा उत्पादन हुने गाँजा सर्लाहीसहित भारतको विहार राज्यको विभिन्न ठाउँमा बिक्री वितरण हुँदै आएको छ ।

यसको प्रयोगले युवासमेत कुलतमा फस्दै आएको स्थानीयवासीको भनाइ छ भने अवैध लागुऔषध गाँजा तस्करले सर्लाहीका विभिन्न नाका हुँदै भारतसम्म पु¥याउने गरेका छन् । प्रहरीले अवैध ओसारपसारमा संलग्नलाई पटकपटक पक्राउ गर्ने गरेको भए पनि अवैध गाँजा तस्करी नियन्त्रणमा आउन नसकेको बताइएको छ । सिन्धुली जिल्लाबाट लुकीछिपी गाँजा ल्याउने काम भइरहेकोमा पछिल्लो समय जिल्लाको उत्तरी चुरे क्षेत्रमै गाँजाखेती फष्टाउन थालेको सूचना पाएपछि प्रहरीले गाँजा फँडानी गरेको हो । यो जिल्लामा अहिलेसम्मकै ठूलो गाँजा फँडानी भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology