• Monday 5th of October 2026

कोभिड–१९ कारण कोही भोकै बस्नु पर्दैन : सांसद बस्नेत


  • गोकर्णेश्वर अनलाइन

सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोभिड–१९ का कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गर्नुभएको छ । अलपत्रलाई भोकै हुन नदिने बताउँदै उहाँले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण कोही समस्यामा परे खाने र बस्ने बासको व्यवस्था गर्ने जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले खाने र बस्ने समस्याका कारण उपत्यका छोडी हिँडेरै घर फर्कनेलाई सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा निश्चित गन्तव्यमा पु¥याउन निर्देशनसमेत दिइसकेको बताउँदै सांसद बस्नेतले उपत्यकाभित्र समस्यामा परेकाहरुले आफूलाई खबर गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको जनभावनाअनुसार निर्देशन आयो, अब प्रदेश र स्थानीय सरकारले मानवीय पक्ष हेरेर अफ्ना क्षेत्रका बासिन्दालाई घर फर्काउन योजना बनाएर लागौँ, काठमाडौँ उपत्यकाभित्र र भक्तपुर जिल्लामा कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै पर्न दिने छैनौँ ।”

यहाँका स्थानीय तहसँगको समन्वय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा राहत तथा सडक मानवलाई खानाको व्यवस्थापन हुँदै आएको छ । उपत्यका छाडेर विभिन्न जिल्लाका नागरिक घर फर्कने क्रममा सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा आजदेखि पैदल यात्रुलाई खाना खुवाउन शुरु गरेको छ । काठमाडौँबाट पूर्व भएर पैदल जाने यात्रुलाई अरनिको राजमार्गखण्डअन्तर्गत जगातीचोकमा सिपाडोल क्षेत्र परोपकार समाजले खाना खुवाउने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष थापाले भन्नुभयो, “हिँडेर आएका पैदल यात्रुलाई प्रहरी वृत्त जगाती अगाडि सडकमा रोकेर खाना खुवाउने र बेलुका प्रहरीको समन्वयमा विभिन्न सवारी साधनमा राखेर घर पठाउने व्यवस्था गरेका छौँ, अब हरेकदिन यो सडकमा कोही भोकै हिँड्नु पर्दैन ।”

मजदूरलाई राहत वितरण

त्यसैगरी सूर्यविनायक–८ जगातीमा चाइनिज इँटा उत्पादन गर्दै आएको भक्तपुर इँटा तथा टायल उद्योग प्रालिले दैनिक ज्यालादारीमा काम गर्ने आफ्ना मजदूरलाई आज राहत वितरण गरेको छ । वडाध्यक्ष थापा र सोही उद्योगका अध्यक्ष केपी ताम्राकारले ९२ जना मजदूरलाई राहतस्वरुप खाद्यान्न वितरण गर्नुभएको हो । मजदूरलाई प्रतिव्यक्ति चामल १० किलो, दाल दुई किलो, आलु एक धार्नी, नुन एक प्याकेट, तेल एक लिटर, मस्यौरा एक पाकेटका दरले राहत उपलब्ध गराएको उद्योगका प्रबन्ध निर्देशक दुर्गा मल्लले जानकारी दिनुभयो । सरकारले लकडाउन जारीगरेपछि इँटाभट्टाको आगो नै निभाएर सबै मजदूरलाई बिदा दिई उद्योग बन्द गरे पनि ३५० जना कर्मचारी एवं मजदूरलाई भने बिदा अवधिमा पनि ७५ प्रतिशत मासिक तलब उपलब्ध गराउने उद्योगले निर्णय गरेको छ । मासिक करिब रु ५० लाख तलब खुवाउँदै आएको उक्त इँटा उद्योगले काम बन्द भए पनि कर्मचारीको तलब भने नरोक्ने निर्देशक मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology