• Monday 5th of October 2026

सांसद र पूर्वप्रहरी महानिरीक्षकबाट डा भट्टराईलाई कारबाहीको माग गर्दै आयोगमा उजूरी


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल र सहयोगी नवीन बस्नेतले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा संयुक्त उजूरी दर्ता गराउनु्भएको छ । जनता समाजवादी पार्टीका नेता डा भट्टराईले सांसद अपहरणको आरोप लगाएर आफूहरुको मानवाधिकार हनन एवं मानहानि गरेको जनाउँदै उहाँहरुले आज आयोग पुगेर डा भट्टराईविरुद्ध उजूरी दर्ता गराई निष्पक्ष छानबिनको माग गर्नुभएको हो । निवेदननमा भनिएको छ, ‘नेपालको संविधानको धारा २४९ को उपधारा २ (क), २ (ख) र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम मानवअधिकारको उल्लंघन भएको, दुरुत्साहन भएकोले सत्यतथ्य छानबिन गरी प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गर्न गराउन सिफारिस गरी पाउं ।’ उजूरीमा जसपाका सांसद डा सुरेन्द्र यादवको अपहरण गरेको भनी झूटो आरोप लगाई गलत प्रचार गरी आफू र आफ्ना परिवारमा मनोवैज्ञानिक पीडा, अपहेलना र मानसिक क्षति पु-याएको भन्दै कारवाही गर्न माग गरिएको हो ।

Baburam Bhattarai quits party | Invent Kathmandu

डा यादवले जसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया र प्रदेशसभा सदस्य कौशल यादलगायत आफूसँगै आएका अन्य आफन्तबारे कुनै कुरा उल्लेख नगरी डा भट्टराई तथा विश्वदीप पाण्डेको सम्पर्कमा पुगेपछि बदनियतपूर्वक र राजनीतिक लाभ लिने उद्देश्यबाट प्रेरित भई गम्भीर आरोप लगाएको उहाँको भनाइ छ । आयोगमा नेकपाका केन्द्रीय सदस्य बस्नेतले भन्नुभयो “पार्टी एकतादेखि धेरै विषयमा कुराकानी गर्न सहमतिकै आधारमा काठमाडौँ आए पनि डा बाबुराम भट्टराईको नेतृत्वमा यसलाई अतिरञ्जित गरिएको, गम्भीरर आरोपहरु लगाइएको छ, यसको निष्पक्ष छानबिन गरी कारवाही गर्न माग गर्दछौँ ।” अर्का सांसद श्रेष्ठले तनहुँको विकासमा निरन्तर लागिरहेको र आफूले पाउने तलब एवं सुविधासमेत जिल्लाका विकासमा खर्च गरेको व्यक्तिलाई अपहरण जस्तो गम्भीरर आरोप लगाएर आफूहरुको चरित्रमाथि दाग लगाउने र मानसिक तनाव दिने काम भएकाले छानबिन गरी कारबाही गर्न माग गर्नुभयो ।

पूर्वप्रहरी महानिरीक्षक खनालले प्रहरी सेवामा आफूले निष्कलंकित भएर ३० वर्ष पु-याएको योगदानलाई मेट्ने काम गर्दै अपहरणको आरोप लगाएर आफू र परिवारमा मानसिक क्षति पु-याउने काम भएको जिकिर गर्नुभयो । त्यस्तै फेसबुकलगायत सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई मानहानि गरिएको तथा जातीय सद्भाव भड्काउने शब्द प्रयोग गरी घृणा र द्वेष फैलाउने कार्य गरेको भन्दै डा भट्टराई, जसपाका नेता विश्वदीप पाण्डे र आङ्काजी शेर्पालाई साइबर क्राइमअन्तर्गत कारबाही गर्नका लागि सिफारिस गर्न माग गरिएको छ । उजूरी बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले यसबारेमा निष्पक्ष छानबिन गरिने, प्रमाण जुटाइने, आवश्यक परे सम्बन्धित स्थानमै गएर छानबिन गरिने र मानवाधिकार हनन भए नभएको सत्यतथ्य बाहिर ल्याइने बताउनुभयो । महोत्तरीस्थित घरबाट यही वैशाख १० गते जबर्जस्ती काठमाडौंँ ल्याएको भन्दै डा यादवले पनि मानवाधिकार रक्षा गरिदिन माग गर्दै वैशाख १८ गते आयोगमा उजूरी दर्ता गराउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology