• Monday 5th of October 2026

सभापति देउवाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


  • गोकर्णेश्वर अनलाइन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराउनुभएको छ । उहाँले नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापकरुपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्नका लागि तत्काल कार्य गर्न गराउन आग्रह गर्नुभएको काँग्रेसले जनाएको छ । साथै देशभर पिसिआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न सभापति देउवाले माग गर्नुभएको छ । साथै उहाँले कुवेत सरकारको सेल्टरमा राखिएका करिब तीन हजार एवं मध्यपूर्व र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्ने बारे सरकारलाई व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्न आग्रह गर्नुभएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सीमानाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि अझै कयौँले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीलाई अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य रहेको स्मरण गराउँदै केन्द्र सरकारले उद्धार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन आग्रह तथा माग गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology