• Monday 5th of October 2026

सिँचाइ क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिइन्छ : मन्त्री रामेश्वर फुयाँल


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उत्पादन बढाउन मन्त्रालयले सिँचाइ क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिने बताउनुभएको छ । प्रदेशका १३ वटै जलस्रोत तथा सिँचाइ विकास डिभिजन, दुई भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन र नारायणी–खगेरी सिँचाइ व्यवस्थापन प्रणालीका प्रमुख तथा प्रतिनिधिसँगको बैठकमा मन्त्री फुयाँलले कोरोनाका कारण विश्वभर आर्थिक सङ्कट उत्पन्न हुन सक्ने भन्दै सरकारले सिँचाइको पूर्वाधार विकासको कामलाई द्रुत गर्नुपर्ने बताउनुभयो । उहाँले लकडाउनका कारण सिर्जित समस्या समाधानमा सरकार तयार रहेकाले काम धमाधम गर्न निर्देशन दिनुभयो । कोरोनाका वाबजुद पनि काम गर्न सक्छौँ भन्ने उदाहरण दिन आवश्यक रहेको बताउँदै मन्त्री फुयाँलले नयाँ योजना निर्माणमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले कसैको स्वार्थमा योजना बनाइनुहुन्न भन्दै वास्तविकता हेरेर आवश्यकीय योजना छनोट गरिने बताउनुभयो । भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीमा जलस्रोत तथा ऊर्जा विकास महाशाखाका निर्देशक मेघराज अवस्थीले महाशाखाको समग्र प्रगति ७० प्रतिशत पुगेको बताउनुभयो । उहाँले लकडाउनका कारण समस्या भएको भए पनि वित्तीय तथा भौतिक प्रगति राम्रो रहेको उल्लेख गर्नुभयो । निर्देशक अवस्थीले सिँचाइको काम बढाउनुपर्ने हुँदा यो वर्ष बजेटसमेत बढाउनुपर्ने उहाँको भनाइ थियो । बैठकमा सहभागी डिभिजन प्रमुख तथा प्रतिनिधिले कामलाई निरन्तरता दिइनै रहेको भए पनि लकडाउनका कारण निर्माण सामग्रीको ओसारपसारमा देखिएको समस्या, मजदुर तथा दक्ष जनशक्तिको अभावलगायत समस्याको समाधान गरिनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology