• Monday 5th of October 2026

नयाँ पुस्ता धूम्रपान र निकोटिनविहीन बनाउन जोड – भानुभक्त ढकाल


  • गोकर्णेश्वर अनलाइन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले आउँदो पुस्तालाई धूम्रपान र निकोटिनविहीन बनाउनुपर्नेमा जोड दिनुभएको छ । विश्व धूमपानरहित दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले धूमपान र निकोटिनविहीन गर्न आजकै दिनदेखि सबैआआफ्ना क्षेत्रबाट क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । सन्देशमा उहाँले स्वस्थ र दीर्घायु बन्नका लागि सुर्तीजन्य पदार्थको सेवन र प्रयोग गर्न निरुत्साहित गर्ने, सेवनकर्तालाई त्याग गर्न अभिप्रेरित गर्ने र नवप्रवेशीलाई सेवन वा प्रयोग गर्ने अवसर नै नदिनु अथवा प्रयोग नगर्न भित्री मनदेखि अभिप्रेरित गर्नु हामी सबैको दायित्व भएको उल्लेख गर्नुभएको छ । विद्यमान ऐन, नियम र निर्देशिकाको पूर्ण पालना गरेमा सुर्तीजन्य उद्योगको चलाखीपूर्ण रणनीतिको चक्रमा कोही फस्न पाउँदैनन् र जो कोही पनि रोगी भई अकालमा मृत्युवरण गर्नु नपर्ने र कोही पनि सँगै बस्नेले खाएको चुरोटको धुवाँबाट हुने असर खप्नु नपर्ने उहाँले बताउनुभयो ।

सुर्तीजन्य उद्योगले गर्ने छलकपटपूर्ण प्रवद्र्धन र प्रलोभनकारी आकर्षक विज्ञापनबारे युवा समयमै सचेत भएमा धूमपान तथा निकोटिनबाट हुने असरबाट बच्न सकिने सन्देशमा उल्लेख गरिएको छ । आज विश्वभर सुर्तीजन्य उद्योगले गर्ने छलकपटपूर्ण प्रवद्र्धनबाट युवालाई बचाऔँ र उनीहरूलाई धूमपान तथा निकोटिनबाट हुने असरको रोकथाम गरौँ भन्ने नाराका साथ दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनले प्रकाशन गरेको प्रतिवेदनअनुसार सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूमा कोभिड–१९ को सङ्क्रमण गम्भीर देखिएको छ । सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने हुँदा कोभिड–१९ ले फोक्सोलाई अझै बढी असर पु-याउँछ । धूमपानका कारण विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाख मानिससँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गर्छ ।

नेपालमा हरेक वर्ष करिब २७ हजार मानिसको मृत्यु धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । हरेक तीन नेपालीमध्ये एकजना धूमपान तथा सुर्तीजन्य पदार्थको अम्मली भएको देखिन्छ । सुर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि अति घातक देखिन्छ भने दीर्घ जीर्ण रोग अर्बुद, मुटु रोग, दम, खोकी, मधुमेहजस्ता रोग लाग्नुको प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ हो ।धूम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग गरेको २० मिनेटभित्र मुटुको धड्कनमा सुधार आई उच्च रक्तचाप नियन्त्रणमा आउँछ । १२ घण्टापछि रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा फर्किन्छ । दुईदेखि १२ हप्तामा फोक्सोमा सुधार आई राम्रो काम गर्न थाल्छ । एकदेखि नौ महिनापछि खोक्ने र छिटो छिटो श्वास फेर्नेमा सुधार आउँछ ।

मन्त्री ढकालको सन्देशमा सुर्तीजन्य पदार्थ सेवन नियन्त्रण र नियमन गर्न विश्वव्यापीरुपमा ऐन, कानून र निर्देशिका जारी गरी आमजनतामा सुर्तीजन्य पदार्थ कहिल्यै नगर्न र गर्नेलाई यसको लतबाट छुटाउन विश्वव्यापी अभियान र कार्यक्रम भइरहेको उल्लेख गर्दै सुर्तीजन्य उद्योगले नवसेवनकर्ताहरूको सङ्ख्या वृद्धि गरी आफ्नो व्यवसाय दिगो बनाउन चलाखीपूर्ण बजारका रणनीति अवलम्बन गरेको पाइएको बताउनुभयो । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका कार्यक्रमले सेवनकर्ताको सङ्ख्यामा उल्लेख्य कटौती हुँदै गएको अवस्थामा सुर्ती उद्योगले सधैँ नयाँ ग्राहक वा सेवनकर्ता पहिचान गर्ने, उनीहरूलाई आकर्षित गर्नेगरी विज्ञापन गर्ने गर्छ । यी प्रवद्र्धनका लागि मात्र रु ८० अर्ब डलरभन्दा बढी खर्च गर्ने गरेको देखिन्छ । ती विज्ञापन धेरैजसो नवयुवामा लक्षित भएको देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology