• Monday 5th of October 2026

कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल


  • गोकर्णेश्वर अनलाइन

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेशन कक्षका लागि आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उहाँले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताउनुभयो । “स्थानीय तह जनताको नजिकको सरकार हो, सङ्कटमा स्थानीय तहले खेलेको भूमिकालाई नजर अन्दाज गर्न सकिँदैन”, उहाँले भन्नुभयो । उहाँले आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने भएकाले कोरोना सङ्क्रमित आत्तिन नहुने सुझाव दिनुभयो । फरक प्रसङ्गमा उहाँले भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा काँग्रेसले आन्दोलन गर्ने तयारी गरेको बताउनुभयो ।

प्रेसले सकारात्मक भूमिका खेलेकै कारण सरकार गलत काम गर्नबाट पछाडि हटेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिपक्षी दललेभन्दा पनि सरकारलाई प्रेसले बढी खबरदारी गरिरहेको छ, अहिलेको अवस्थामा प्रेसको भूमिका पनि अतुलनीय छ ।” सो अवसरमा उहाँले जिपी कोइराला श्वासप्रश्वास अस्पतालका लागि ३० थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पिपिइ, आदिकवि भानुभक्त क्याम्पसका लागि ४२ थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पिपिइ हस्तान्तरण गर्नुभएको थियो । यसैगरी उहाँले बन्दीपुर गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, दमौली अस्पतालका लागि १२ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, छ थान पिपिइ, भीमाद नगरपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, देवघाट गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, नेपाल पत्रकार महासङ्घ तनहुँका लागि ७० थान एन ९५ मास्क, २०० थान मास्क र १७ थान स्यानीटाइजर हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology