• Monday 27th of July 2026

बडिकेदार जिल्लाकै पहिलो कोरोनामुक्त गाउँपालिका


  • गोकर्णेश्वर अनलाइन

डोटीको बडिकेदार गाउँपालिका जिल्लाकै पहिलो कोरोनामुक्त गाउँपालिका बनेको छ । कोरोना सङ्क्रमण देखिएका स्थानीयवासीको स्वाब सङ्कलनको नतिजा नेगेटिभ आएसँगै सो गाउँपालिका जिल्लाको पहिलो कोरोनामुक्त गाउँपालिका बनेको हो । गत जेठमा भारतबाट घर फर्किएका १३ जनामा कोरोना सङ्क्रमण देखिएको र आइसोलेसनमा उपचार गराएर उनीहरु निको भएपछि बडिकेदार गाउँपालिका अहिले कोरोनामुक्त भएको सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिका हाललाई कोरोना सङ्क्रमण मुक्त गाउँपालिका भएको छ ।” छिमेकी जिल्ला र स्थानीय तहहरुमा कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा सङ्क्रमणको स्थितिलाई दृष्टिगत गरी थप सङ्क्रमण फैलिन नदिन रोकथाम तथा उपचारसम्बन्धी कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाई आवतजावत बन्द गरिएको अध्यक्ष चन्दको भनाइ छ ।

उहाँका अनुसार एक टोेलबाट अर्को टोलमा आवतजावत गर्न, पशुचौपाया खरिद–बिक्री गर्न, आपत्कालीन र अत्यावश्यक क्षेत्र खुला रहने गरी अत्यन्त जरुरी कामबाहेक घरबाट बाहिर हिँड्डुल गर्न, एम्बुलेन्स, शववाहन, कूटनीतिक नियोग, खाद्यान्न, तरकारी, औषधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र उनीहरुका सवारी साधनबाहेक अन्य सवारी साधन आवतजावत गर्न तथा गाउँपालिकासँग सीमा जोडिएका सम्पूर्ण नाका पूर्ण रुपमा बन्द गरिएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन गाउँपालिकाले आफ्नो पालिकाभरिमा उच्च सतर्कता अपनाउन थालेको छ । पालिकाभरिमा सबै प्रकारका भेला, सभा, सम्मेलन, गोष्ठी, धार्मिक तथा सांस्कृतिक मेलापर्वलगायत कार्यक्रम पनि बन्द गरिएको छ ।

“गाउँपालिकासँग सिमाना जोडिएका सम्पूर्ण नाका बन्द गर्ने निर्णय भएको छ”, गाउँपालिका वडा नं ४ का अध्यक्ष वीरेन्द्र कोड्केनीले भन्नुभयो, “कोरोना सङ्क्रमण आउन नदिन हामीले आफ्नो सीमा क्षेत्रलगायत पालिकाभरिमा आवतजावतमा कडाइ गरेका छौँ ।” जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाभरि लागू हुने गरी यही भदौ २१ गते राति १२ देखि २८ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक कामबाहेक अन्य कामका लागि जिल्लामा आवतजावतमा पूर्ण रुपमा निषेध गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology