• Monday 5th of October 2026

गृहमन्त्रीद्वारा छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म उद्घाटन


  • गोकर्णेश्वर अनलाइन

गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको व्यास गाउँपालिका १ छा¬ङरुको गागामा स्थापित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन गर्नुभएको छ । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजीकै स्थापित सशस्त्र प्रहरीको गुल्मको हेलिकप्टरमार्फत व्यास पुगेर उहाँले उद्घाटन गर्नुभएको हो । एकतर्फी रुपमा नेपाली भूमि भएर चीन जोड्ने गरी सडकको भारतले उद्घाटन गरेपछि नेपाल सरकारले व्यासमा सशस्त्र प्रहरी बल राखेको हो । आफ्नो भूमिको रक्षाका लागि गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राखिएमा अहिले स्तरोन्नति गर्दै गुल्म राखिएको हो । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार छाङ्रुमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गरिएको हो । अहिले व्यासको गुल्ममा डिएसपी धीरेन्द्र शाहले नेतृत्व गर्नुभएको छ ।

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटर नयाँ नक्शा जारी गरिसकेको तथा व्यास क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लगेको छ । सरकारले व्यासकै तिङ्कर र कौवामा पनि बिओपी राख्ने तयारी छ । गृहमन्त्री थापासँगै छाङरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिह ठगुन्ना, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायतका सहभागी हुनुहुन्छ ।

गृहमन्त्री थापा नेतृत्वको टोली आज व्यासमै बस्ने कार्यक्रम रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । टोली शनिबार मात्रै काठमाडौँ फर्कने छ । व्यासमा बस्दा कौवा, तिङ्करलगायत क्षेत्रमा निरीक्षण गर्ने योजना रहेको छ । गृहमन्त्रीले सशस्त्र प्रहरीको गागामा निर्माण हुने भवनको शिलान्याससमेत गर्नुहुनेछ । सशस्त्र प्रहरीको भवन निर्माणका लागि रु १० करोड ठेक्का सम्झौता भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology